समन्वय समितिको टोली आँबुखैरेनीमा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • आँबुखैरेनी

    समन्वय समितिको टोली आँबुखैरेनीमा

    खबरपुञ्ज संवाददाता

    ६ पुष २०७७, मंगलवार

    तनहुँ : स्थानीय तहको अनुगमन थालेको जिल्ला समन्वय समिति तनहुँको टोली सोमबार आँबुखैरेनी गाउँपालिका पुगेको छ । चालु आर्थिक वर्ष ०७७÷७८ का लागि स्वीकृत वार्षिक योजनाहरुको कार्य प्रगति विवरण जानकारी लिने उद्देश्यले समन्वय समितिको टोली आँबुखैरेनी पुगेको हो ।

          समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेको नेतृत्वमा समितिले आँबुखैरेनी गाउँपालिकाले सञ्चालन गरेका योजनाको बारेमा जानकारी लिएको छ । संविधानले स्थानीय तहले गरेका कामको अनुगमनको जिम्मेवारी दिएकाले समन्वय समितिले सोही बमोजिम अनुगमन शुरु गरेको समन्वय समितिका प्रमुख वाग्लेले जानकारी दिनुभयो ।

          समन्वय समितिका सदस्य एवं प्रवक्ता गल गुरुङले आँबुखैरेनीमा चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विकास योजना, काम गर्दा आइपरेका समस्या लगायतका विषयमा जानकारी लिइएको बताउनुभयो ।

    आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष गिरबहादुर थापा, उपाध्यक्ष पुष्पा श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले चालु आर्थिक वर्षमा गाउँपालिकामा भइरहेका योजना निर्माणबारे समन्वय समितिको टोलीलाई जानकारी गराउनुभयो ।

          अनुगमनमा समन्वय समितिका प्रमुख वाग्ले सहित उपप्रमुख पवित्रा पौडेल, जिल्ला समन्वय अधिकारी प्रेमराज गिरी लगायत सहभागी हुनुहुन्थ्यो । जिल्ला समन्वय समितिलाई जिल्ला भित्रका गाउँपालिका र नगरपालिकाबीच समन्वय गर्ने, विकास निर्माण सम्बन्धि कार्यमा सन्तुलन कायम गर्ने र सो को अनुगमन गर्ने, जिल्लामा रहने स्थानीय र प्रदेशका सरकारी कार्यालय स्थानीय तहबीच समन्वय गर्ने जिम्मेवारी रहेको छ ।