एउटै गाउँबाट तीन करोडको सुन्तला विक्री
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एउटै गाउँबाट तीन करोडको सुन्तला विक्री

    खबरपुञ्ज संवाददाता

    ९ पुष २०७७, शुक्रबार

    तनहुँ : तनहुँको देवघाट गाउँपालिका–३ ल्हुङ्ग्रीङ गाउँबाट रु तीन करोड भन्दा बढीको सुन्तला विक्री भएको छ । उक्त गाउँबाट मात्रै यस वर्षको सिजनमा रु तीन करोड भन्दा बढीको सुन्तला विक्री भएको हो ।

    सुन्तला विक्री गरेर यहाँका एक कृषकले मात्रै रु २२ लाख आम्दानी गर्नुभएको छ । स्थानीय भीम रानाले यस वर्ष सुन्तला विक्रीबाट उक्त आम्दानी भएको बताउनुभयो । “सुन्तला खेती नै यहाँका कृषकको मुख्य आम्दानीको स्रोत हो,” उहाँले भन्नुभयो, “सुन्तला विक्री गरेर कृषकले मनग्य आम्दानी गरिरहेका छन् ।” रानाले एउटा बगैचाबाट रु १५ लाख र अर्को बगैचाबाट रु सात लाख बराबरको सुन्तला विक्री गर्नुभएको छ । “सुन्तला विक्रीका लागि समस्या छैन,” उहाँले भन्नुभयो ।

    स्थानीयवासी कर्णसिं गुरुङले रु १८ लाख, नवराज गुरुङले रु १५ लाख, रामबहादुर रानाले रु १२ लाख बराबरको सुन्तला विक्री गर्नुभएको छ । “सुन्तला विक्री गरेर आम्दानी नगर्ने कुनै घर छैनन्, विगतमा अन्य खेती गरेका पनि अहिले व्यावसायिक रुपमा सुन्तला खेतीमा आबद्ध छन्,” उहाँले भन्नुभयो । उहाँका अनुसार यस ठाउँबाट मात्रै करिब रु तीन करोड बढीको सुन्तला उत्पादन भएको अनुमान छ ।

    देवघाट गाउँपालिकाका कृषि तथा पशु शाखाका प्रमुख पूर्णचन्द्र अधिकारीले ल्हुङ्ग्रीङ गाउँ देवघाटकै सुन्तलाको पकेट क्षेत्र रहेको जानकारी दिनुभयो । उहाँले यहाँका कृषकले सुन्तला विक्री गरेर मनग्य आम्दानी गर्दै आएको जानकारी दिँदै उहाँले भन्नुभयो, “हरेक घरमा सुन्तला छ, कति विक्री भयो भन्ने चाँही तथ्याङ्क आउन बाँकी छ ।”

    कृषि ज्ञान केन्द्र तनहुँका अनुसार गत वर्ष भन्दा यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ । गत वर्ष आठ हजार पाँच सय मेट्रिक टन सुन्तला उत्पादन भएकामा यस वर्ष आठ हजार मेट्रिक टन मात्रै सुन्तला उत्पादन भएको केन्द्र प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिनुभयो ।

    “उपयुक्त मौसम नभएकाले यस वर्ष सुन्तला उत्पादनमा कमी आएको छ,” उहाँले भन्नुभयो, “१५ प्रतिशत कम उत्पादन भएको प्रारम्भिक तथ्याङ्क छ ।” तिवारीका अनुसार यस वर्ष करिब रु २३ करोड बराबरको सुन्तला उत्पादन भएको छ । जिल्लाको एक हजार पाँच सय हेक्टर क्षेत्रफलमा सुन्तला खेती भइरहेको छ ।