तनहुँ : गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले संसद पुनस्र्थापना नहुने दावी गर्नुभएको छ । अदालतले संसद पुनस्र्थापना गरेमा अलोकतान्त्रिक हुने उहाँले बताउनुभयो ।
तनहुँको भीमाद नगरपालिका–३ लोकतान्त्रिक मार्गमा रहेको बडुवा खोलामा निर्माण हुन लागेको पक्की पुलको आइतबार शिलान्यास गर्दै मन्त्री गुरुङले सरकार अनिर्णयको बन्दी हुने अवस्था आएपछि बाध्य भएर मध्यावधि निर्वाचन घोषणा गरिएको बताउनुभयो ।
“पाँच वर्षसम्म काम गर्नलाई निर्वाचित गरिएको थियोे । त्यो अवधिसम्म काम गर्न दिनुपर्छ । भागबण्डा खोजेर पार्टीबाट नै काम गर्न नदिएपछि बाध्य भएर सरकारले संसद भङ्ग गरेको हो,” उहाँले भन्नुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य गुरुङले पार्टीभित्रबाटै अविश्वासको प्रस्ताव दर्ता हुन लागेको थाहा पाएपछि बाध्य भएर प्रधानमन्त्रीले संसद भङ्ग गर्दा असंवैधानिक कदम नहुने बताउनुभयो । “सरकार हटाउन पाईने, मध्यावधि निर्वाचनमा जान नपाईने भन्ने हुँदैन,” उहाँले भन्नुभयो, “लोकतन्त्रमा संसदीय अभ्यास जायज छ ।”
प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनको घोषणा गरेर जनताको नासो जनतालाई नै फिर्ता गरेको मन्त्री गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो, “जनमतमा जानु लोकतान्त्रिक कदम हो । जनताको मतबाट चुनिन डराउने प्रतिगमनकारी हुन् ।” मन्त्री गुरुङले गण्डकी प्रदेश सरकार विघटन नहुने समेत उल्लेख गर्नुभयो ।