तनहुँ : यतिबेला कुलो जत्रै देखिएको बडुवा खोला बर्खाको बेला निकै ठुलो बन्छ । खोला तर्न हालिएका फड्के बगाईदिन्छ । स्कूले केटाकेटी, घाँस दाउरा र मेलामात गर्ने स्थानीयलाई खोला तर्न समस्या हुन्छ । यहाँको लोकतान्त्रिक मोटरमार्गमा गुड्ने सवारी साधनका चालकलाई पनि सास्ती छ ।
वर्षौदेखि मोटरेबल पुल बनाउन आवाज उठाउँदै आएका यहाँ स्थानीयको माग गण्डकी प्रदेश सरकारले सम्बोधन गरिदिएको छ । भिमाद नगरपालिका–३ स्थित बडुवाखोलामा पक्की मोटरेबल पुलको शिलान्यास गरिएको छ । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले शिलान्यास गर्नुभयो।
मन्त्री गुरुङले पुल निर्माण गुणस्तरीय भए नभएको अनुगमनको जिम्मा स्थानीयले लिनुपर्ने बताउनुभयो । उहॉले प्रतिनिधिसभा विघटन भएर मध्यावधी निर्वाचनको घोषणा भएपनि विकास निर्माणमा प्रभाव नपर्ने बताउनुभयो ।
भिमाद नगरपालिकाका मेयर मेखबहादुर थापाले विकासको यात्रा निरन्तर जारी रहेको बताउनुभयो । उहॉले जनताको अपेक्षा र स्थानीय सरकारको परिकल्पनालाई प्रदेश सरकारले पूरा गर्दै आएको बताउनुभयो ।
उपमेयर शारदा खनालले यहाँ पुल नहुँदा बालबालिकाले अकालमै ज्यान गुमाएको स्मरण गर्नुभयो । ‘कति जना फड्के तर्दा खोलामा खसेर घाईते हुनुभयो । कतिका छोराछोरीको ज्यान गयो । अब त्यस्तो दिनको अन्त्य हुदैँछ’, उहॉले भन्नुभयो ।
वडाध्यक्ष भुपेन्द्रराज मल्लले यहाँ बनेको पुलले स्थानीयको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गर्नुभयो । ‘बाटो बनेपनि पुल नहुँदा सवारी आउजाउमा समस्या थियो । गाउँमा पक्की बाटो पुग्यो । बिचको खोलामा भने पुल नै थिएन् । विकासको स्तर मिलेको थिएन् । अब पुल बनेपछि दिगो बिकास र स्थायित्वको आवश्यकता देखिन्छ’, उहॉले भन्नुभयो ।
पुल निर्माण उपभोक्ता समितिका अध्यक्ष पदमराज सेनले सपनामा सोचेको वुडुवा खोलामा पक्की पुल बिपनामा पुरा भएको उल्लेख गर्नुभयो । उहॉले पुल बनेपछि यहाँका आसपासका गाउँमा पुगेको मोटरबाटोले सार्थकता पाएको उल्लेख गर्नुभयो ।
पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख ओमराज ढुंगानाका अनुसार यो पुल १९.८ मिटर लामो र ६ मिटर चौडाईको हुनेछ । आगामी असार २७ गते निर्माण सम्पन्न गर्नेगरी गणेश कुण्ड आइएस निर्माण सेवा नुवाकोटले ठेक्का लिएको हो । ओपन फाउण्डेसन डिजाइनको पुल निर्माण लागत दुई करोड पाँच लाख ५७ हजार १ सय ४४ रुपैयाँ (भ्याट सहित) रहेको उहॉले जानकारी दिनुभयो । यो बर्ष गण्डकी प्रदेश सरकारले पुल निर्माणका लागि ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।