सरकार गरिबले उपचार नपाएरै मर्ने ?
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    सरकार गरिबले उपचार नपाएरै मर्ने ?

    खबरपुञ्ज संवाददाता

    १३ पुष २०७७, मंगलवार

    तनहुँ : सुनिता थारु (२७) जतिबेला विस्तारामा लम्पसार परिरहनुहुन्छ । आफ्नै शरीर काबुमा छैन् उहाँको । अरु त परको कुरा, कोल्टे फेर्नलाई समेत श्रीमान् भागीरामको साहारा चाहिन्छ ।
    पिठ्युँमा गहिरो घाउ छ । त्यो भन्दा गहिरो घाउ त मनमा होला । व्यक्त गर्न पो नसक्नुभएको । मलमपट्टी नपाएको घाउ घरघरी चर्हाउँछ, मन पनि त्यस्तै हुँदो हो ।

    हट्टाकट्टा सुनिताको जिन्दगीमा गत असार ११ गते कालो दिन सावित भयो । बर्दिया न्याउलापुर घर भई दुलेगौँडा बस्दै आउनुभएकी उहाँलाई डेरा नजिकै सवारीले ठोक्दिएपछि अशक्त बन्नुभएको छ । आर्थिक अभावमा गहिरो घाउलाई मलमपट्टी गर्न पनि मुस्किलै छ ।

    ज्याला मजदुरीमा जाने श्रीमानको साहारा बन्न आउनुभएकी उहाँ आफैलाई साहारा चाहिने अवस्थामा पुग्नुभएको छ । सुनिताका श्रीमान् भागीराम ज्यालामजदुरी गर्नुहुुन्छ । विस्तारामा थलिनुभएकी श्रीमतीको स्याहार गर्ने की काममा जाने ? केही गरी सुख छैन् उहाँलाई पनि । ‘घरमै स्यहार गरेर बसुँ भने दुर्घटनापछि उपचार गर्दाको ऋण तिर्न बाँकी छ । काममा जाऊ त ओल्टापोल्टाइ, दिशापिसाब गराउन आईरहनुपर्छ’, उहाँले भन्नुभयो ।

    उहाँका अनुसार दुर्घटनापछि सुनिताको उपचार गराउन पोखरा लगिएको थियो । पोखराको अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ पठाईयो । झण्डै दुई महिना उपचार गराएर डेरामा (दुलेगौँडा) फर्किएको उहाँले बताउनुभयो । त्यतिबेला ठक्कर दिने सवारी पक्षले उपचारका लागि रु तीन लाख दियो । घर परिवार र आफन्तबाट रु पाँच लाख ऋण काढे । काम गर्दै आएको ठेकदारसँग रु एक लाख । ठेकेदारको ऋण तिर्नलाई पनि विस्तारामा थला परेकी श्रीमतीलाई छाडेर काममा जाने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘ठेकेदारले नजिकै काम दिएर गएको हो । दिनमा ३÷४ पटक घरमा आएर उनको स्याहार गर्छु ।’

    चिकित्सकले सुनिताको अप्रेसन गर्नुपर्छ भनेका छन् । अप्रेशन गरेपछि पनि निको हुने शतप्रतिशत ग्यारेण्टी त छैन् । तैपनि भागीरामलाई अप्रेशन गरेपछि निको हुन्छ भन्ने विश्वास छ । ‘उपचार गर्न ५ लाख रुपैयाँ लाग्छ रे । पहिलेकै ऋण तिर्न बाँकी छ । अब फेरि पैसा कसरी जम्मा गर्ने ?’ उहाँ भन्नुहुन्छ ।
    ठक्कर दिने सवारी चालकले ३ लाख रुपैयाँ भन्दा सुक्को नदिएको उहाँले बताउनुभयो । दाताको सहयोग पाएर उपचार गराएको धेरै सुन्नुभएको छ उहाँले । त्यस्तै मनकारी दाता पाए आफ्नी जीवनसंगिनिको पनि उपचार गराउने मनमा झिनो आशा भागीरामसँग छ ।