


तनहुँ: नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य एवं
गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्रमा जनताको मत लिनु उपयुक्त हुने बताउनुभएको छ ।
उहॉले भन्नुभयो, ‘लोकतन्त्रमा संसदीय अभ्यास अनुसार सदनमा मत लिने र जनमतमा जान पाईन्छ । यी मध्ये जनमतमा जाने कदम उपयुक्त हो ।’
नेपाल कम्युनिष्ट पार्टी नेकपा शुक्लागण्डकी नगर कमिटीको छैठौँ विस्तारित बैठक (ओली पक्षको भेला)लाई सम्बोधन गर्दै मन्त्री गुरुङले प्रधानमन्त्रीले संसद विघटन गरेर जनमतमा जाने निर्णय गर्दा अलोकतान्त्रिक र असंवैधानिक भन्नेहरुले संविधान नपढेको बताउनुभयो । ‘उनीहरुले लोकतन्त्र बुझेका छैनन् । संविधान पढेका छैनन् । संघीयतालाई बुझेका छैनन्,’ उहॉले भन्नुभयो, ‘यो संसदीय अभ्यास हो । विगतमा पनि हामीकहाँ मध्यावधि निर्वाचनको घोषणा गरिएको थियो ।’
सर्वोच्चले संसद पुनस्र्थापना गर्ने सम्भावना नरहेको उहॉको दाबी छ । एक घण्टा लामो सम्बोधन गर्नुभएका गुरुङले प्रचण्ड–नेपाल पक्षले संसद पुनस्र्थपनाका लागी गरेको आन्दोलनलाई असंवैधानिक कदमको संज्ञा दिनुभयो । गुरुङले ओलीलाई ५ वर्षसम्म काम गर्न नदिई समिकरणमा लागेर पार्टीलाई विभाजन गरेको बताउनुभयो । कानुनी रुपमा मात्र पार्टी विभाजन हुन बाँकी रहेको उहॉको भनाई छ ।