दुलेगौँडा : दुलेगौँडाको शुक्लागण्डकी बचत तथा ऋण सहकारी संस्थाले विद्यार्थीलाई स्विटर वितरण गरेको छ । सहकारीको बार्षिक कार्यक्रम अन्तर्गत सामाजिक उत्तरदायित्व वहन गर्दै शुक्लागण्डकी–५ नयाँगाउँ बेलभञ्जयाङमा रहेको कुमारी आधारभुत विद्यालयका विद्यार्थीलाई स्विटर वितरण गरेको हो ।
सोमबार १ सय २५ जना विद्यार्थीलाई स्विटर वितरण गरेको सहकारीका शिक्षा उपसमितिका संयोजक त्रिलोचन लम्सालले बताउनुभयो । चिसोबाट जोगाउनलाई स्विटर वितरण गरेको उहाँको भनाई छ । ग्रामिण क्षेत्रमा रहेका विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको पारिवारीक आर्थिक अवस्था कमजोर हुने हुदाँ सहकारीले बर्षेनी सहयोग गर्दै आईरहेको लम्सालले जानकारी दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिननाथ पौडेलले बजारको नजिकै तर छायामा परेको विद्यालय भएता पनि स्थानीय स्तरबाट भएको अधिकतम प्रयासले विद्यार्थीको संख्या अन्य विद्यालयको तुलनमा धेरै रहेको बताउनुभयो । कार्यक्रममा सहकारीका अध्यक्ष लेखबहादुर पुन, उपाध्यक्ष रसमाया गुरुङ्ग र विद्यालयका प्रधानध्यापक रामबहादुर राना लगायतले बोल्नुभएको थियो ।