देवघाट क्षेत्र विकास समितिले भन्यो, ‘माघे सङ्क्रान्ति मेला भर्न देवघाट नआउनुहोस्’
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    देवघाट क्षेत्र विकास समितिले भन्यो, ‘माघे सङ्क्रान्ति मेला भर्न देवघाट नआउनुहोस्’

    खबरपुञ्ज संवाददाता

    २० पुष २०७७, मंगलवार

    तनहुँ : तनहुँको देवघाट क्षेत्र विकास समितिले यस वर्षको माघे सङ्क्रान्ति पर्वको अवसरमा देवघाट नआउन भक्तजनलाई आग्रह गरेको छ । नजिकिदै गरेको माघे सङ्क्रान्तिलाई मध्यनजर गर्दै समितिले कोभिड–१९ का कारण यस वर्ष मेला भर्न नआउन भक्तजनलाई आग्रह गरेको हो ।

    कोभिड–१९ को जोखिम कायमै रहेको तथा कोभिडको स्वरुप परिवर्तन भएर पनि आएको हुनाले यस वर्ष मेला भर्न नआउन आग्रह गरिएको क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरेनबाबु घिमिरेले जानकारी दिनुभयो । माघे सङ्क्रान्तिलाई लक्षित गरी क्षेत्र विकास समितिको सोमबार बैठक सम्पन्न भएको छ । बैठकमा तनहुँ, चितवन र नवलपुरका सुरक्षा निकायका प्रमुखको सहभागिता थियो ।

    “यो वर्ष आ–आफ्नो घर नजिकका नदीमा स्नान गरिदिन सूचना सम्प्रेषण गर्ने तयारी गरेका छौ,” घिमिरेले भन्नुभयो । देवघाटमा माघे सङ्क्रान्ति मेला भर्न अघिल्लो दिनदेखि नै लाखौ भक्तजन आउने गरेका थिए । क्षेत्र विकास समितिले नआउनु भनेपनि यस वर्षको माघेसङ्क्रान्ति पर्वको अवसरमा भक्तजन आउने निश्चित नै छ । “भक्तजन आएको खण्डमा मेला भर्न रोक भने लगाउँदैनौ, सुरक्षित साथ स्नान गरेर फर्किने व्यवस्थापन क्षेत्र विकास समितिले मिलाउँछ,” घिमिरेले भन्नुभयो ।

    गत वर्षको माघे सङ्क्रान्ति मेलाको अवसरमा पाँच लाख भन्दा बढी भक्तजन देवघाट आएका थिए । गोसाइँकुण्डबाट आएको त्रिशुली र मुक्तिनाथबाट आएको कालीगण्डकी दोभान देवघाटमा माघेसङ्क्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास रहँदै आएको छ ।