दुलेगौँडा : म्याग्दे गाउँपालिका–६ क्षेत्र भञ्जयाङस्थित रत्न माध्यमिक विद्यालयकी एक जना शिक्षिकाले विद्यार्थीलाई ट्रयाकसुट उपहार दिनुभएको छ । विहीबार शिक्षिका निर्भाना ठकुरीले विद्यार्थीलाई ट्रयाकसुट वितरण गर्नुभयो ।
ठकुरीले परिवारको सहयोगमा १ सय २० जना विद्यार्थीलाई एक लाख रुपैयाँ खर्चेर ट्रयाकसुट वितरण गरेको जानकारी दिनुभयो । विद्यालयमा अध्यनरत अधिकांश विद्यार्थी विपन्न परिवारका भएकाले चिसो मौसममा न्यानोपनको आभास गराउन ट्रयाकसुट वितरण गरेको उहाँले बताउनुभयो ।
डेढ बर्षदेखि उक्त विद्यालयमा अध्यापन गराउदै आउनु भएको छ । उहाँको परिवार अमेरिकामा बस्दै आएको छ ।
उक्त कार्यक्रममा बोल्दै म्याग्दे गाउँपालिकाकी अध्यक्ष मायादेवी रानाले शिक्षक विद्यार्थीको दोस्रो अभिभावक भएको बताउनुभयो । कार्यक्रममा म्याग्दे–६ का वडाध्यक्ष बसन थापा, सुर्य नेपाल प्रालीका मानव स्रोत संसाधन विभागका व्यवस्थापक अन्जन दवाडी, विद्यालयका प्रधानध्यापक रमेशबाबु भट्टराई, शिक्षक पशुपती अर्याल लगायतले बोल्नुभएको थियो ।