काठमाडौं : चार पूर्वप्रधानन्यायाधीशहरुले शुक्रबार जारी गरेको विज्ञप्ति प्रधानमन्त्री केपी शर्मा ओलीले आक्रोश व्यक्त गर्नुभएकाे छ । उहाँले पोहोर परार अदालतमा ‘जागिर खाएका’ भन्दै आक्रोश व्यक्त गर्नुभएकाे हाे ।
‘पोहोर परार जागिर खाएको थियो एकपल्ट अदालतमा जागिर खाएको भरमा केही मान्छे अहिले पनि जागिरमै छन् भन्ने बिर्सिएर यस्तो र उस्तो हुन्छ भनिरहेका छन्। म उहाँहरुलाई भन्न चाहन्छु- उहाँहरुजस्तो सर्वोच्च अदालत र सर्वोच्च ठाउँमा पुगिसकेको बसिसकेका मान्छेहरुले सर्वोच्च अदालतलाई गलत ढंगले प्रभावमा मार्ने, गुमराहमा पार्ने, अलमल्याउने धम्क्याउने खालका कुनै पनि क्रियाकलाप उहाँहरुलाई गर्न सुहाउँदैन,’ शनिबार प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयाे ।
ओलीले स्वतन्त्र न्यायालयलाई लोकतन्त्रमा कदर गर्न सिक्नुपर्ने बताउनुभयाे। ‘स्वतन्त्र न्यायालयलाई कदर गर्न नजान्ने अनि लोकतन्त्र, न्यायालय, न्याय, संविधानका कुरा गर्ने? सडकबाट तपाईं फैसला दिनुहुन्छ कि संवैधानिक इजलाशबाट? संविधानमा संवैधानिक इजलाश छ। अहिले अति जान्ने सुन्ने अजासु निस्किएर संवैधानिक इजलाशले हुँदैन, कुन संविधानले भन्यो तपाईंलाई संवैधानिक इजलाशले हुँदैन?’, उहाँले भन्नुभयाे ।