तनहुँ : जेसीआई व्यास नगरको वर्ष २०२१ का लागि निर्वाचित तथा मनोनित पदाधिकारीले शनिबार पदभार ग्रहण गरेका छन् । जेसीआई व्यास नगरले आयोजना गरेको २७ औ पदस्थापन कार्यक्रममा वर्ष २०२१ का निर्वाचित अध्यक्ष लक्ष्मीभक्त खनाल सहित पदाधिकारीहरुले पदभार ग्रहण गर्नुभएको हो ।
वर्ष २०२० का अध्यक्ष भरतकुमार श्रेष्ठले २०२१ का अध्यक्ष खनाललाई शपथग्रहण गराउँदै पदभार हस्तान्तरण गर्नुभएको छ । सो अवसरमा वर्ष २०२० का अध्यक्ष श्रेष्ठले आफ्नो कार्यकालमा सहयोग पु¥याएको भन्दै पूर्व अध्यक्ष सुरेश पुरी र माधव न्यौपानेलाई सम्मान गर्नुभयो । सबैको साथ र सहयोगले आफ्नो कार्यकाल सफल भएको श्रेष्ठले बताउनुभयो ।
पदस्थापन कार्यक्रममा नेपाल जेसीजका अध्यक्ष अरुणेश्वर खनालले जेसीजमा आबद्ध युवामा संस्कार र अनुशासन हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठ, तनहुँ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।