निर्वाचन पूर्वाधारको बजेटबाट निर्मित मन्दिरको उद्घाटन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    निर्वाचन पूर्वाधारको बजेटबाट निर्मित मन्दिरको उद्घाटन

    खबरपुञ्ज संवाददाता

    ५ असाेज, २०८१

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–१ दभुङस्थित पान्धारेमा निर्माण सम्पन्न भएको पञ्चेश्वर मन्दिरको आइतबार उद्घाटन गरिएको छ । निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेटमार्फत् निर्माण सम्पन्न भएको उक्त मन्दिरको तनहुँ क्षेत्र नं २ का निवर्तमान सांसद केदार सिग्देलले उद्घाटन गर्नुभयो ।

    मन्दिर निर्माणका लागि सांसद सिग्देलले पूर्वाधार साझेदारी कार्यक्रम मार्फत् रु दश लाख बजेट विनियोजन गर्नुभएको थियो । स्थानीयवासीले रु दुई लाख ३९ हजार सात सय ४० बराबरको श्रमदान गरेका थिए । कूल रु १२ लाख ३९ हजार सात सय ४० को लागतमा मन्दिर निर्माण सम्पन्न भएको निर्माण समितिका सचिव राजकुमार श्रेष्ठ (विवि) ले जानकारी दिनुभयो । गत पुस महिनामा निर्माण शुरु भएको मन्दिर तीन महिनामा सकिएको थियो । कोरोनाका कारण उद्घाटनमा ढिलाई भएको बताइएको छ ।

    मन्दिरको उद्घाटन गर्दै सिग्देलले पान्धारे क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । तनहँु क्षेत्र नं १ का निवर्तमान सांसद कृष्णकुमार श्रेष्ठ (किसान) ले विकास निर्माणमा सबैले हातेमालो गरेर अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

    व्यास नगरपालिकाका प्रवक्ता एवं वडा नं ५ का अध्यक्ष मोहनकुमार श्रेष्ठले पान्धारे मन्दिर क्षेत्रको संरक्षणमा कमी भएको चर्चा गर्दै यसको विकासका लागि सरोकारवालाको ध्यान जानुपर्ने बताउनुभयो ।

    संस्थाका अध्यक्ष काजीमान श्रेष्ठले पान्धारेलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउने उद्देश्य सहित पूर्वाधार निर्माण गर्न आवश्यक रहेको बताउनुभयो ।