तनहुँ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं २ का निवर्तमान सांसद केदार सिग्देलले केपी ओली नेतृत्वको सरकारले जनताको नासो जनतालाई नै फिर्ता दिएको बताउनुभएको छ । बहुमतको सरकारलाई काम गर्न नदिइएको र प्रतिगामी तत्वहरुले देशलाई अराजकतातर्फ उन्मुख गराएको भन्दै सिग्देलले ताजा जनादेशका लागि सरकारले संसद विघटन गरेको बताउनुभयो ।
म्याग्दे गाउँपालिका–१ दभुङ्ग पान्धारे मन्दिर संरक्षण संस्थामा निर्माण सम्पन्न पन्चेश्वर महादेव मन्दिरको आइतबार उद्घाटन गर्दै सिग्देलले छापामार शैलीमा पद र शक्तिका लागि फोहरी खेल खेल्ने दुस्साहस पार्टीभित्रैबाट भएको बताउनुभयो । “जननिर्वाचित बहुमतको सरकारलाई पार्टीभित्रका केही अराजक तत्वहरुले अवरोध गर्न खोजे,” सिग्देलले भन्नुभयो ।
पार्टीका केन्द्रीय सदस्य एवं तनहुँ क्षेत्र नं १ का निवर्तमान सांसद कष्णकुमार श्रेष्ठले ओली सरकारले देशका लागि गरेको विकास देख्न नसक्नेहरुका कारण यो अवस्था सिर्जना भएको बताउनुभयो । ओली सरकारले जनप्रिय काम गर्दा गर्दै पनि आफ्नै पार्टीबाट धोका भएको श्रेष्ठको भनाई थियो ।