९ सय ४० सवारी चालकलाई सडकमै प्रशिक्षण
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ९ सय ४० सवारी चालकलाई सडकमै प्रशिक्षण

    खबरपुञ्ज संवाददाता

    २६ पुष २०७७, सोमबार

    तनहुँ : सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले एक साताको अवधिमा करिब एक हजार चालकलाई सडकमै प्रशिक्षण दिएको छ । गण्डकी प्रदेश ट्राफिक प्रहरी कार्यालय गगनगौडाको ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत तनहुँका विभिन्न ठाउँमा ९ सय ४० दुई पाङ्ग्रे सवारी चालकलाई प्रशिक्षण दिइएको हो ।

    पुस १९ गतेदेखि २५ गतेसम्म मोटरसाइकल तथा स्कूटर चालकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख रेशम रानाभाटले जानकारी दिनुभयो । रानाभाटका अनुसार व्यास नगरपालिकाको दमौली, घाँसीकुवा, आँबुखैरेनी गाउँपालिकाको एक्लेफाँट, म्याग्दे गाउँपालिकाको गुणादी, बन्दीपुर गाउँपालिकाको डुम्रे र शुक्लागण्डकी नगरपालिकाको बेलचौतारामा प्रशिक्षण सञ्चालन गरिएको छ ।

    प्रशिक्षणका क्रममा रानाभाटले लेन अनुशासनको पालना गर्नुपर्ने, मादक पदार्थ सेवन नगरी सवारी चलाउनुपर्ने, सवारी चालक अनुमतिपत्र बोक्नुपर्ने, रातको समयमा हेडलाइट बाल्नुपर्ने, अनावश्यक हर्नको प्रयोग नगर्न, कलिला बालबालिकालाई सवारी साधन प्रयोग गर्न नदिने विषयमा दुई पाङ्ग्रे सवारी चालकलाई जानकारी गराउनुभएको छ ।

    “दुई पाङ्ग्रे सवारी चालकको लापरवाहीका कारण सवारी दुर्घटना बढेपछि त्यसलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो,” उहाँले भन्नुभयो, “सवारी चालकलाई सडकको सुरक्षित स्थानमा रोकेर पाँच मिनेट प्रशिक्षण दिन्छौ ।” एकपटकमा १५ देखि २० वटा दुई पाङ्ग्रे सवारी रोकेर प्रशिक्षण सञ्चालन गरिएको छ ।

    ट्राफिक व्यवस्थापन तथा सुधार अभियान अन्तर्गत विशेषतः तीन वटा मुख्य कार्यक्रम सञ्चालन गरिनेछ । दुई पाङ्ग्रे सवारीका चालकलाई सडकमै प्रशिक्षण, सवारी दुर्घटना कम हुने उपायका बारेमा सिकाउने, ठूला सवारीसाधनका चालकलाई सडक अनुशासनका बारेमा सिकाइनेछ । साथै सरोकारवाला निकायबीच ट्राफिक व्यवस्थापनका विषयमा अन्तरक्रिया गरिनेछ ।