तनहुँ : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री टोपबहादुर रायमाझीले मध्यावधि निर्वाचन गर्ने निर्णय सरकारको अग्रगामी कदम भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तनहुँले साेमबार दमौलीमा आयोजना गरेको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै मन्त्री रायमाझीले पद्धति बचाउनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्नुपरेको उल्लेख गर्नुभयो ।
संसद विघटन रहरले नभई बाध्यात्मक परिस्थितिमा भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटीका सदस्य समेत रहनुभएका मन्त्री रायमाझीले भन्नुभयो, “संसद पुनस्थापनाको माग गर्नु पश्चगामी सोच हो ।” पुष्पकमल दाहाल र माधव नेपालको पदको लोभका कारण आजको स्थिति पैदा भएको भन्दै मन्त्री रायमाझीले पार्टीभित्रैबाट सरकारका विरुद्ध षड्यन्त्र गरिएको दावी गर्नुभयो ।
सरकारले गरेको राम्रा कामको प्रशंसाले केपी शर्मा ओलीले एकछात्र राज गर्ने सम्भावना भएका कारण पार्टीभित्रैका मान्छेहरुको निन्द्रा हराम भएको मन्त्री रायमाझीले बताउनुभयो । “राष्ट्रिय अडान र विकासवादी नेताको हिसाबले केपी शर्मा ओली एकछत्र नेता हुने भए भन्ने हुटहुटीका कारण पार्टीभित्रैबाट उहाँलाई असहयोग हुँदै आयो,” उहाँले भन्नुभयो, “अब हामी हराएर जाने भयौ भन्ने चिन्ताले उहाँहरुले सरकार असफल बनाउने खेल खेल्नुभयो ।”
कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य पृथ्वीसुब्बा गुरुङले पार्टीभित्रकै नेताहरुको कारण संसद विघटन भएको बताउनुभयो । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले लोकतन्त्र नबुझेकाहरुले मध्यावधि निर्वाचनको विरोध गरिरहेको बताउनुभयो ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य एवं पूर्वमन्त्री खगराज अधिकारीले भूगोल फर्काउने अभियानमा लागेकै कारण केपी ओलीमाथि षड्यन्त्र भएको बताउनुभयो ।