नवलपरासी : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोरोना विरुद्धको थप खोप खरिदको प्रक्रिया अघि बढाइएको बताउनुभएकाे छ । कोरोना विरुद्धको खोप अभियानको अनुगमनका लागि नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) को पृथ्वीचन्द्र अस्पताल परासीमा आउनुभएका मन्त्री त्रिपाठीले पत्रकारसँग कुराकानी गर्दै खोप उत्पादक मुलुकसँग सरकारले राजनीतिक प्रयत्नमार्फत खोप खरिदको प्रक्रिया अघि बढाएको जानकारी दिनुभयाे ।
मुलुकका ७२ प्रतिशत नागरिक खोपका लागि योग्य रहेको उल्लेख गर्दै मन्त्री त्रिपाठीले भन्नुभयाे “सरकारले खोप उत्पादक मुलुकसँग सरकार–सरकार, सरकार–उत्पादक कम्पनीलगायत आधारमा खोप खरिदको प्रक्रिया अघि बढाएको छ, भारतसँग पनि हामीले खरिदकै प्रक्रिया अघि बढाएका थियौँ तर अनुदान उपलब्ध भयो ।”
पहिलो चरणमा प्राथमिकतामा परेका स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स चालकलगायत चार लाख ३० हजार अर्थात तीन प्रतिशत नागरिकलाई खोप लगाएपछि दोस्रो चरणमा ५५ वर्ष माथीका नागरिकलाई प्राथमिकता दिइने मन्त्री त्रिपाठीले जानकारी दिनुभयाे ।