


काठमाडाै, २३ साउन । रुपन्देही कारागार प्रशासनले सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेप्रति कुनै विभेद नगरिएको बताएको छ ।
कारागार प्रशासनले पूर्व उपप्रधान एवम् गृहमन्त्री लामिछानेलाई राखिएको भन्दै प्रकाशित समाचारमा देखाइएको तस्वीर कारागारको नभएको स्पष्ट पारेको छ । सञ्चारमाध्यमहरूमा आए जस्तो कारागारको अवस्था पनि नरहेको जिकिर गरिएको छ ।
कारागार कार्यालयको विषयमा विभिन्न पत्र पत्रिकामा प्रकाशित समाचार प्रति गम्भीर ध्यानकर्षण भएको भन्दै ‘समाचारमा प्रकाशित तस्वीर यस कारागार भित्र रहेको भवनको नभएको र समाचारमा उल्लेख भए जस्तो अवस्था नरहेको’ शुक्रबार जारी विज्ञप्तिमा उल्लेख छ ।
रवि लामिछानेको सुरक्षालाई ध्यानमा राखि कारागार प्रशासनले एउटा छुटै कोठामा बसोबासको व्यवस्था मिलाइएको जनाएको छ । कारागार प्रशासनले समय समयमा उनलाई भेट गरी समस्या तथा आवश्यकताका सम्बन्धमा सोधपुछ गर्ने गरेको र देखिएका समस्या समाधान समेत गर्ने गरेको बताएको छ ।
अन्य सामान्य कैदीहरूले पाउने सेवा सुविधामा विभेद नगरिएको, उनले चाहेको खण्डमा मात्र बाहिरबाट आउने व्यक्तिले भेट्न पाउने तथा सञ्चार सुविधा उपयोग गर्ने वातावरण मिलाइएको पनि विज्ञप्तिमा उल्लेख छ ।
‘सुरक्षाका दृष्टिले संवेदनशिल क्षेत्र भएकोले कारागारसँग सम्बन्धित समाचार प्रकाशन, प्रसारण गर्दा सर्वसाधारणमा भ्रम सिर्जना हुने गरी चित्र तथा सामग्री नराखिदिनु हुन र कार्यालयसँग आधिकारिक सूचना लिइ सत्य तथ्य समाचारहरू मात्र प्रकाशन, प्रसारण गरिदिनु हुन सम्बन्धित सबैमा अनुरोध छ’ कारागार प्रशासनले भनेको छ ।
.jpg)