म्याग्दे–३ को वडा कार्यालय भवन निर्माण शुरु, गाउँपालिका अध्यक्षद्वारा शिलान्यास
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • म्याग्दे

    म्याग्दे–३ को वडा कार्यालय भवन निर्माण शुरु, गाउँपालिका अध्यक्षद्वारा शिलान्यास

    खबरपुञ्ज संवाददाता

    २६ माघ २०७७, सोमबार

    तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–३ को वडा कार्यालय भवन निर्माण शुरु भएको छ । उक्त भवनको सोमबार गाउँपालिकाका अध्यक्ष मायादेवी रानाले शिलान्यास गर्नुभएको छ ।

    सो अवसरमा अध्यक्ष रानाले सबै वडा कार्यालयको आफ्नै भवन निर्माण गर्ने योजना रहेको बताउनुभयो । उहाँले गाउँपालिकाले राजनीतिक हिसाबले नभई आवश्यकताका आधारमा विकास योजना सञ्चालन गरेको बताउनुभयो ।

    गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले सडक, पूर्वाधार, शिक्षा, खानेपानीलाई प्राथमिकतामा राखेर गाउँपालिकाले काम गरेको बताउनुभयो । वडा कार्यालय भवन निर्माणका लागि तनहँु उद्योग वाणिज्य सङ्घका पूर्व अध्यक्ष कृष्णराज पण्डितले जग्गादान गर्नुभएको थियो । सो अवसरमा उहाँलाई सम्मान समेत गरिएको थियो ।

    रु ४५ लाख ३० हजार ९ सय ३० को लागतमा वडा कार्यालय भवन निर्माण गर्न लागिएको प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा देउराली विल्डर्सले पाएको छ ।

    गाउँपालिकाले चालु आर्थिक वर्षमा चार वटा वडा कार्यालय भवन निर्माण गर्ने लक्ष्य राखेको छ । सोही बमोजिम वडा नं ४ र ६ को यस अगाडी नै शिलान्यास भइसकेको छ । वडा नं १ र ५ को भवन निर्माण सम्पन्न हुने चरणमा छ । वडा नं २ को भवन भने पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।

    गाउँपालिकाले प्रमुख प्रशासकीय भवन समेत निर्माण शुरु गरिसकेको छ । दुई वर्षभित्र निर्माण गर्ने लक्ष्य राखिएको भवन रु दश करोड ३५ लाख ६९ हजार ८ सय ८४ को लागतमा निर्माण हुन लागेको हो । चालु आर्थिक वर्षमा रु ६ करोड ८५ लाख ५० हजार २५ र आगामी आर्थिक वर्षमा रु तीन करोड ५० लाख १९ हजार आठ सय ५८ को काम हुनेछ ।