धरमपानी स्वास्थ्यचौकीलाई रोटरीको इसिजी र एक्सरे मेसिन सहयोग
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • बन्दीपुर

    धरमपानी स्वास्थ्यचौकीलाई रोटरीको इसिजी र एक्सरे मेसिन सहयोग

    खबरपुञ्ज संवाददाता

    ३ फाल्गुन २०७७, मंगलवार

    तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिका–६ स्थित धरमपानी स्वास्थ्यचौकीलाई रोटरी क्लवले इसिजी र एक्सरे मेसिन सहयोग गरेको छ । ग्रामीण भेगका जनतालाई गाउँमै सेवा प्रवाह गर्ने उद्देश्य सहित रोटरी क्लव अफ पाटन, रोटरी क्लव जापान र बन्दीपुर सामाजिक विकास समितिले स्वास्थ्यचौकीलाई इसिजी र एक्सरे मेसिन सहयोग गरेको हो ।

    उक्त सामग्री क्लवले मङ्गलबार गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा, उपाध्यक्ष करुणा गुरुङको उपस्थितिमा हस्तान्तरण गरेको छ । सामाजिक सेवाको भावना सहित क्लवले रु पाँच लाख ९० हजार बराबरको सामग्री स्वास्थ्यचौकीलाई सहयोग गरेको रोटरी क्लव अफ पाटनका अध्यक्ष रत्नकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

    गाउँपालिकाका अध्यक्ष थापाले क्लवले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै उक्त सामग्रीले गाउँका जनतालाई सहज हुने बताउनुभयो । गाउँपालिकाका उपाध्यक्ष गुरुङले इसिजी र एक्सरे मेसिन प्राप्त भएपछि गाउँका मानिसलाई उक्त कार्यका लागि बजारसम्म आउनुपर्ने बाध्यताको अन्त्य भएको बताउनुभयो ।

    धरमानी स्वास्थ्यचौकीमा गाउँपालिकाले गत वर्ष ल्याब सञ्चालन गरेको थियो । ल्याबका लागि गाउँपालिकाले दुई जना दक्ष प्राविधिक समेत राखेको छ । “इसिजी र एक्सरेका लागि यहाँका सर्वसाधारण बजारसम्म जानुपर्दा आर्थिक भार समेत पर्ने गरेको थियो, अब गाउँमै सर्वसुलभ रुपमा सेवा पाउने भएका छन्,” गुरुङले भन्नुभयो । गाउँपालिकाले छिट्टै नै धरमपानी स्वास्थ्यचौकी र बन्दीपुर अस्पताललाई एम्बुलेन्स हस्तान्तरणको तयारी गरेको उहाँले जानकारी दिनुभयो ।