पूर्वाधार निर्माणका लागि तनहुँका चार याेजना छनाेट
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पूर्वाधार निर्माणका लागि तनहुँका चार याेजना छनाेट

    खबरपुञ्ज संवाददाता

    ४ फाल्गुन २०७७, बुधबार

    तनहुँ : पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माण गर्नका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तनहुँ जिल्लाका विभिन्न आयोजना छनौट गरेको छ । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रबद्र्धन गर्ने उद्देश्यले मन्त्रालयले तनहुँको बन्दीपुर गाउँपालिका, भानु नगरपालिका, देवघाट गाउँपालिका र व्यास नगरपालिकाका चार वटा आयोजना छनौट गरेको हो ।

    बन्दीपुरमा मुकुन्देश्वरी पदमार्ग पर्खाल (मिनी ग्रेटवाल), भानु नगरपालिकामा नेमुनी पार्क, देवघाट गाउँपालिकामा घण्टचुली पर्यटन क्षेत्र र व्यास नगरपालिकामा १०८ फिट मूर्ति निर्माणमा मन्त्रालयले सम्बन्धित पालिकासँग साझेदारी गर्नेछ । पर्यटकीय गन्तव्यमा पूर्वाधार निर्माणका लागि मन्त्रालयले रु १५ करोड ८५ लाख बजेट विनियोजन गरेको छ भने सम्बन्धित पालिकाले रु आठ करोड १५ लाख साझेदारी गर्नुपर्नेछ ।

    बन्दीपुर गाउँपालिकाले गत वर्षदेखि निर्माण शुरु गरेको मिनी ग्रेटवालका लागि मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज हुने गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

    गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । “पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौ,” उहाँले भन्नुभयो । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

    यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।

    विश्वकै प्रसिद्ध ग्रेटवालको झल्को दिने गरी निर्माण गरिएको पदमार्ग पर्खालले यहाँको पर्यटन विकासमा टेवा पुग्ने विश्वास गरिएको छ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट निर्माण शुरु गरिएको पदमार्ग पर्खाल मुकुन्देश्वरी डाँडामा पुगेर टुङ्गिनेछ । मुकुन्देश्वरी डाँडा तत्कालिन राजा मुकुन्द सेनले शासन गरेको ठाउँ हो । उक्त पदमार्ग पर्खाललाई पनि ‘मुकुन्देश्वरी पर्खाल’ को नामाकरण गरिएको छ । पदमार्ग पर्खाल तीन मिटर फराकिलो रहनेछ । बन्दीपुरमा वार्षिक एक लाख भन्दा बढी पर्यटक भ्रमणका लागि पुग्ने गरेका छन् । पदमार्ग पर्खाल निर्माण सम्पन्न भएसँगै पर्यटकको सङ्ख्या अझै बढ्ने अनुमान छ ।

    मन्त्रालयले तनहुँको देवघाट गाउँपालिका–१ स्थित घण्टाचुली पर्यटन क्षेत्र विकासका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन गरेको छ । त्यसमा गाउँपालिकाले रु एक करोड ५० लाख साझेदारी गर्नुपर्छ । मन्त्रालयले विनियोजन गरेको बजेटले पर्यटकीय पूर्वाधार निर्माणका लागि सहयोग पुग्ने घण्टाचुली पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष खड्गबहादुर आलेले जानकारी दिनुभयो ।

    देवघाटधामको शिरमा अवस्थित घण्टाचुली समुन्द्र सतहदेखि एक हजार ६ सय ३० मिटर उचाइमा छ । धार्मिक, ऐतिहासिक, प्राकृतिक एवं पुरातात्विक महत्व बोकेको सो ठाउँमा राजदरबार, राजगद्दी र चौकीका भग्नावशेष रहेको छ । यहाँ रहेको घण्टाचुली कालिका मन्दिरमा मागेको कुरा पूरा हुने धार्मिक विश्वास छ ।

    दुई सय हेक्टरभन्दा बढी क्षेत्रफलमा फैलिएको घनाजङ्गलमा अवस्थित सो ठाउँमा लालीगुराँस ढकमक्क फुलेको देख्न सकिन्छ । सो ठाउँबाट नेपालका १७ जिल्ला देख्न सकिने दावी गरिएको छ । “धार्मिक तथा ऐतिहासिक महत्व बोकेको यस ठाउँको जति प्रचारप्रसार हुनुपर्ने हो, त्यति हुन सकेको छैन,” मगरले भन्नुभयो, “मन्त्रालयले यस ठाउँलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्नका लागि बजेट विनियोजन गरेर यसको महत्व बुझेको आभाष भएको छ ।”

    यसैगरी भानु नगरपालिकास्थित नेमुनि पार्कका लागि रु तीन करोड २५ लाख मन्त्रालयबाट विनियोजन भएको छ भने पालिकाको तर्फबाट रु एक करोड ७५ लाख साझेदारी गर्नुपर्नेछ ।

    व्यास नगरपालिका–३ मा निर्माण हुने १०८ फिट अग्लो व्यासमूर्तिका लागि मन्त्रालयले रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ भने व्यास नगरपालिकाले रु दुई करोड ४५ लाख साझेदारी गर्नेछ ।

    व्यास क्षेत्र शिवपञ्चायन विकास कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले मूर्ति निर्माणका लागि व्यास नगरपालिकाले केही दिनभित्रै टेण्डर आह्वान गर्ने तयारी गरेको जानकारी दिनुभयो । “दुई÷चार दिनभित्रै टेण्डरको तयारी भएको छ, मूर्ति निर्माणको काम अब अगाडी बढ्छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार टेण्डर भएपश्चात् पर्यटन मन्त्रालयले विनियोजन गरेको रकमबाट मूर्ति निर्माणको काम अगाडी बढ्छ ।

    गण्डकी प्रदेशको पर्यटन मन्त्रालयमार्फत् पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको छ । उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउरालीनगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु दश लाखको लागतमा मुख्यप्रवेशद्वारको केही काम गरिएको छ ।

    गुरुयोजना अनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९ सय ९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २ सय १७ लाग्ने अनुमान रहेको छ ।

    व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ सालदेखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । उक्त रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ ।

    निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु ७ करोड खर्च हुने अनुमान छ । व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ ।