तनहुँ : तनहुँको बन्दीपुर गाउँपालिकाले घरमै पुगेर सहिद परिवारलाई सम्मान गरेको छ । सहिद सप्ताह अन्तर्गत गाउँपालिकाले वडा नं २ र ४ का सहिद परिवारलाई आज सम्मान गरेको हो ।
जनयुद्ध तथा जनआन्दोलनका क्रममा सहिद भएकाहरुको परिवारलाई भेटघाट गर्दै सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । उहाँका अनुसार बिहीबार वडा नं २ का दुई जना र वडा नं ४ का एक जना सहिदका परिवारलाई रु दश हजार सहित सम्मान गरिएको छ ।
जनयुद्ध तथा जनआन्दोलनका क्रममा सहिद भएका बन्दीपुर गाउँपालिका–२ का केशव भट्ट, सन्तबहादुर थापा र बन्दीपुर गाउँपालिका–४ का हरिप्रसाद श्रेष्ठका परिवारलाई सम्मान गरिएको छ । सहिद परिवारलाई सम्मान गर्न गाउँपालिकाका अध्यक्ष थापा, उपाध्यक्ष करुणा गुरुङ घरमै पुग्नुभएको छ ।
शुक्रबार थप चार जनालाई सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष थापाले जानकारी दिनुभयो । जनआन्दोलन तथा जनयुद्धका क्रममा गाउँपालिकाका ९ जनाले सहादत प्राप्त गरेका थिए ।