पोखरा :मोबाइल र इन्टरनेटको पहुँचले धेरै कुरा हातमै आइपुगेका छन् । छिनमै विश्वको हालखबर बुझ्न, आफन्तसँग सम्पर्क गर्न सजिलो भएको छ । ज्ञान र मनोरञ्जनमा हामी सिधै जोडिएका छौं ।
यस्ता धेरै सजिला पक्षसँगै साइबर अपराध र जंक फुडको लत पनि बढेको छ । यसबारे सचेत बनाउन परिवार र समुदाय तहमै प्रयासहरु समेत थालिएका छन् ।
पोखरा महानगरपालिका-५ धारापानी आमा समूहले शनिबार जंकफुडरहित खाना तथा इन्टरनेटको दुरुपयोगका जोखिमबारे समूहका सदस्य र बालबालिकालाई प्रशिक्षण दिएको छ ।
कार्यक्रममा गण्डकी प्रदेशकी उपसभामुख सिर्जना शर्माले इन्टरनेटको उपयोग र नयाँ प्रविधिको प्रयो अनिवार्य भइसकेको बताउनुभयो । उहॉले उपयोग अनिवार्य भए पनि दुरुपयोग र अपराधिक पक्षबारे सबै सजग हुनुपर्नेमा जोड दिनुभयो । उहॉले भन्नुभयो ‘जीवनलाई ऊर्जावान् बनाउन खानपान र जीवनयापनको भूमिका हुन्छ, यो परिवार, समाजले नै सिकाउनुपर्छ ।’
पोखरा-५ का वडाध्यक्ष धनबहादुर नेपालीले आमा समूहको प्रयासमा यस खालको सान्दर्भिक कार्यक्रम हुनु प्रशंसनीय भएको बताउनुभयो । प्रविधि र विज्ञानको प्रयोग अनिवार्य भएको उल्लेख गर्दै आउन सक्ने विकृति रोक्न सामूहिक प्रयास जरुरी हुने उहॉको भनाई थियो ।
पोखरा ५ की वडा सदस्य अञ्जु केसीले कोरोना कहरपछि इन्टरनेटमा बालबालिकाको बढी समय बित्ने गरेको र त्यो लत बनेको उल्लेख गर्दै उनीहरुले के गरिरहेका छन् भनी अभिभावले चासो राख्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा वडा प्रहरी कार्यालय बैदामकी प्रमुख प्रहरी नायब उपरीक्षक चिनीमाया तामाङले साइबर अपराधका प्रकृति र जोगिनु उपायबारे प्रकाश पार्नुभयो । पूर्व प्राध्यापक महेन्द्रमान व्यथितले जंगफुडका अवगुण र स्वस्थ आहारबारे प्रकाश पार्नुभयो ।
समूहका अध्यक्ष कल्पना भुवाजीको अध्यक्षतामा भएको कार्यक्रममा सचिव मिरा केसी र उपाध्यक्ष सरिता अधिकारीले पनि बोल्नुभएको थियो ।