तनहुँ : पुरातात्विक सम्पदाहरुलाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने उद्देश्य सहित नयाँ वर्षको अवसरमा व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा पर्यटन सम्पदा तथा वातावरण मेला हुने भएको छ । तनहुँसुर क्षेत्रलाई धार्मिक, सांस्कृतिक, प्राकृतिक एवं जैविक विविेधतायुक्त पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दै स्थानीय समुदायलाई प्रोत्साहन गर्न आगामी वैशाख ५ गतेदेखि ७ गतेसम्म पर्यटन तथा वातावरण मेला हुन लागेको हो ।
तनहुँसुर देवस्थल समुदायिक होमस्टे र तनहुँसुर सामुदायिक होमस्टेको आयोजना तथा विभिन्न सामुदायिक वन उपभोक्ता समितिको सहआयोजनामा मेला गर्न लागिएको आइतबार दमौलीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।
तनहुँसुर दरवार परिसर अन्तरगतका पुरातात्विक सम्पदाका साथै वातावरण संरक्षण एवं प्रबर्धनका लागि जनचेतना अभिवृद्धि गर्न, हाल सञ्चालनमा रहेका र सञ्चालन उन्मुख होमस्टेहरुको प्रबर्धन गरी आन्तरिक एवं बाह्य पर्यटकको आगमनमा उल्लेख्य वृद्धि गर्दै स्थानीय समुदायको समृद्धिका लागि टेवा पु¥याउने मेलाको मुख्य उद्देश्य रहेको मूल आयोजक समितिका अध्यक्ष एवं वडाध्यक्ष निरबहादुर खड्काले जानकारी दिनुभयो ।
“पर्यटकीय गन्तव्यहरुमा परिरहेको वातावरणीय नकारात्मक प्रभाव न्युनीकरण गर्दै स्थानीय जनतानमा पर्यटनको प्रतिफल समुचित रुपमा वितरण तथा प्राकृतिक, सांस्कृतिक एवं वातावरणीय संरक्षणमा टेवा पु¥याउनु नै पर्यापर्यटनको मूलभूत उद्देश्य हो,” उहाँले भन्नुभयो ।
नेपाल भ्रमण वर्ष २०२० को लक्ष्य एवं उद्देश्य अनुरुप उत्साहजनक रुपमा सञ्चालनमा रहेका पर्यटकीय गतिविधिहरु एकाएक विश्वव्यापी महामारी कोरोना भाइरसका कारण अस्तव्यस्त एवं अन्यौलको अवस्थामा पुग्न गएको हुँदा पर्यटन क्षेत्रलाई पुनरुत्थान गर्न सहयोग पु¥यउने उद्देश्य अनुरुप चैतेदशैको अवसर पारेर मेला आयोजना गरिएको आयोजकले जनाएको छ ।
मेलामा स्वदेशी तथा विदेशी पर्यटक, उद्योग, व्यवसायी, कृषक, पत्रकार, साहित्यकार, विद्यार्थी एवं शिक्षक तथा खोजकर्ताहरुका साथै विभिन्न पेशामा आबद्ध व्यक्ति गरी ५० हजारले अवलोकन गर्ने अनुमान रहेको सम्पदा नेपालका अध्यक्ष हरिसिं गुरुङले जानकारी दिनुभयो । उक्त तीन दिनमा एक हजार जनाले सांस्कृतिक कार्यक्रम सहित होमस्टे र क्याम्पसाइटको अनुभव बटुल्नेछन् ।
मेलाका अवसरमा तनहुँसुर दरबारमा बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म विभिन्न अन्तरक्रिया, वक्तृत्वकला, सांस्कृतिक, साहित्यिक तथा पर्यटकीय कार्यक्रम सहित सञ्चालन गरिनेछ । मेलाका अवसरमा धार्मिक एवं ऐतिहासिक स्थलहरुको भ्रमण तथा दर्शन, विविध सांस्कृतिक कार्यक्रम सहित होमस्टे अनुभव, तनहुँसुर इको ट्रेक, पुरातात्विक सम्पदा र वन तथा वातावरण सम्बन्धी प्रदर्शनी, पुरातात्विक सम्पदाको महत्व एवं वातावरण संरक्षण विषयक मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता, खाना महोत्सव सञ्चालन गरिनेछ ।
खाना महोत्सवमा स्थानीय समुदायको आयोजनामा अर्गानिक खानाका परिकारहरु (सेल रोटी, तरुल, भ्याकुर बटुकी,गुन्द्रुक, भट्ट, भुटेको मकै, सिस्नोको सूप, सुकुटी, लोकल कुखुराको मासु, कोदो÷फापरको ढिडो उपलब्ध गराइनेछ ।
मेला सफल बनाउन विभिन्न १७ वटा उपसमिति गठन गरिएको छ । मेलाका प्रचारप्रसार समितिका संयोजक धु्रवराज पण्डितले उजाड भएको तनहुँसुरलाई पुनजीर्वित गराउन मेलाले सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । मेला सञ्चालनका लागि करिब रु आठ लाख ८० हजार खर्च हुने र मेलामा भएको आम्दानी इको ट्रेक सुधारमा खर्च गरिनेछ ।
व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले तनहुँसुरको विकास अभियानमा नगरपालिका सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै सांस्कृतिक पहिचान र मौलिक सम्पदा जोगाउने अभियानमा उक्त मेलाले प्रेरणा दिने बताउनुभयो ।
तनहुँसुर दमौली सम्पर्क समाजका अध्यक्ष वृषराज श्रेष्ठले प्रचारप्रसारका अभावमा ओझेलमा परेको तनहुँसुर विस्तारै लयमा आउन थालेको बताउनुभयो । “उजाड भइसकेको तनहुँसुरलाई पुनजीर्वित गराउन प्रचारप्रसारको खाँचो छ, त्यसका लागि मेला सहयोगी बन्ने विश्वास लिएका छौ,” श्रेष्ठले भन्नुभयो ।