दुलेगाैडा : सोमबार दिउँसो तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले शुक्लागण्डकी नगरपालिकामा सञ्चालित पाउरोटी उद्योगको अनुगमन गर्नुभयो । उपभोक्ताको गुनासो आएपछि यहाँको बेलचौतारा र खैरेनीटार बजारमा सञ्चालित उद्योग अनुगमन गरेका उहाँले कुनै पनि उद्योगले मापदण्ड पूरा गरेको भेट्नुभएन ।
बेलचौताराको कृष्ण पाउरोटी उद्योग, खैरेनीटारको सुर्य पाउरोटी भण्डार, आयसा अरमान पाउरोटी उद्योग र प्रिती बेकरी उद्योगमा अनुगमन गर्दा सबैमा एउटै समस्या । उद्योग सञ्चालनका निम्ति आवश्यक प्रकृया पूरा भएकै छैन । अर्कोतिर उपभोक्ताको स्वास्थ्यमा खेलवाड गरेको भेटियो । न उद्योगमा उत्पादित वस्तुको लेबलिङ छ न त सरसफाई नै । उद्योग वरपर झिङ्गा घन्किरहेको थियो । मङ्गलबारको उत्पादन मिति राखेर बजार पठाउन प्याकेजिङ गरिरहेको समेत फेला परेको छ ।
जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा कुनै पनि उद्योगले मापदण्ड पूरा नगरेपछि सञ्चालकलाई मङ्गलबार कागजत सहित बोलाईएको छ । उद्योग सञ्चालकलाई कानुनी कारबाही गर्ने साहयक प्रजिअ बरालले बताउनुभयो । ‘अधिकांश उद्योगहरु फोहर । व्यवस्थित तरिकाले नराखेको । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबाट अनुज्ञापत्र नलिएको र व्यवस्थित तरिकाले नचलाएको पाईयो,’ सहायक प्रजिअ बरालले भन्नुभयो, ‘खाद्यको नमुना सङ्कलन गरेका छौँ । खाद्य ऐन २०२३ र उपभोक्ता संरक्षण ऐन र नियमावली अनुसार कारवाही गर्छौँ ।’ उहाँले कहीकतै उपभोक्ता मारमा परेको भए सूचना दिन आग्रह गर्नुभयो ।
उपभोक्ताको स्वास्थ्यलाई मध्यनजर गर्दै हरेक महिना बजार अनुगमन गर्नुपर्ने शुक्लागण्डकी उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष सुजित हिराचन बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बजार अनुगमनले उद्योगी व्यवसायीलाई अनुशासित बनाउँछ । गुणस्तरिय सेवा दिन प्रतिबद्ध बनाउँछ ।’ उहाँले व्यवसाय गर्दा उपभोक्तको हितलाई पनि ख्याल गर्न सुझाव दिनुभयो ।
आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँको अनुगमन टोलीले व्यास नगरपालिकामा सञ्चालित उद्योगमा अनुगमन गरेको थियो । अनुज्ञापत्र नलिई उत्पादन गर्ने तनहुँको व्यास नगरपालिका–२ मालेगबरमा सञ्चालित न्यु झलक दालमोठ उद्योग बन्द गराइएको थियो ।