तनहुँ : निर्वाचन घोषणा भई गत पुस ५ गतेपछि स्थगित भएको मतदाता नामावली सङ्कलन तथा अद्यावद्यिक कार्य पुन: सुचारु भएको छ । सरकारले प्रतिनिधि सभा विघटन गरेर चुनाव घोषणा गरेसँगै निर्वाचन आयोगले नामावली सङ्कलन कार्य स्थगित गरेको थियो । सर्वोच्च अदालतले संसद विघटन गर्ने सरकारको निर्णय बदर गरिदिएसँगै आयोगले नामावली सङ्कलनलाई अगाडी बढाउन लागेको हो ।
जिल्ला निर्वाचन अधिकारी महेश शर्माले चैत ५ गतेदेखि मतदाता नामावली सङ्कलन तथा अद्यावद्यिक शुरु गरिएको जानकारी दिनुभयो । कार्यालयले नागरिकता बनाउन आउनेलाई प्रशासन कार्यालयबाटै नामावली सङ्कलनको व्यवस्था मिलाएको छ भने कार्यालयबाट पनि नाम दर्ता गर्न सकिनेछ ।
कुनै मतदाताले आफ्नो मतदाता नामावलीमा रहेको नाम, ठेगाना, मतदानस्थल, जन्ममिति, नागरिकता, बुबाआमाको नाम, पति वा पत्निको नाम लगायतका विवरणमा रहेको त्रुटि सच्याउनका लागि आवश्यक प्रमाण सहित निवेदन दिन कार्यालयले आग्रह गरेको छ ।