काठमाडौ : प्रमुख प्रतिपक्ष कांग्रेस नै तयार नभएपछि वैकल्पिक सरकार निर्माण गर्ने सम्भावना तत्काललाई टरेको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार विराटनगरमा स्थानीय सञ्चारकर्मीसँग कांग्रेस विपक्षमा बस्ने उद्घोष गरेपछि नयाँ सरकार तत्कालै नबन्ने देखिएको हो।
अर्को विपक्षी जनता समाजवादी पार्टी (जसपा) पनि सत्तासमीकरणका विषयमा अनिर्णीत छ । प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प दिन कांग्रेस, माओवादी केन्द्र र जसपा सबै एकै ठाउँमा उभिनुपर्छ । यी तीन दलमध्ये कुनै एक दलमात्रै तयार नहुँदा वैकल्पिक सरकार बन्न सक्दैन । देउवाले अविश्वासको प्रस्ताव पनि नल्याउने र पार्टी सरकारमा पनि नजाने प्रस्ट बताइसकेका छन्। उनले विराटनगरमा त्यस्तो अभिव्यक्ति दिँदै गरेका बेला जसपाका नेताहरू भने बालुवाटारमा प्रधानमन्त्री ओलीसँग वार्ता गरिरहेका थिए । कांग्रेस नेताहरूका अनुसार माओवादीले सरकारबाट अलग भएको घोषणा ग¥यो भने भिन्न परि स्थिति खडा हुन सक्छ । (आजको कान्तिपुर दैनिकबाट)