तनहुँ : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले योजना बिना गरिएका विकास परिणाममुखी नहुने भएकाले योजना बनाएर मात्रै काम गर्न आग्रह गर्नुभएको छ । तनहँुको बन्दीपुर गाउँपालिकाको बीस वर्षीय एकीकृत विकास गुरुयोजनाको बुधबार सार्वजनिक गर्दै मुख्यमन्त्री गुरुङले योजना र अध्ययन बिना अन्धाधुन्ध गरिने कामले आर्थिक स्रोतको मात्रै नोक्सानी गर्ने बताउनुभयो ।
आवधिक योजना निर्माण गरेर अगाडी बढ्न सबै स्थानीय तहलाई अनुरोध गरेपनि केही स्थानीय तह बाहेक अन्यले उक्त काम नगरेको मुख्यमन्त्री गुरुङले बताउनुभयो । “गण्डकी प्रदेशका ८५ मध्ये १९ वटा स्थानीय तहले मात्रै आवधिक योजना बनाएका रहेछन्, सबै पालिकालाई आवधिक योजना बनाएर विकास निर्माणका काम गर्न अनुरोध गरेका छौ,” उहाँले भन्नुभयो, “योजना बिना गरिएका कामले सार्थक परिणाम दिँदैन ।” मुख्यमन्त्री गुरुङले गुरुयोजना बनाएर मात्र नहुने बरु त्यसको सही कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।
तीन तहको सरकारबीच समन्वय र सहकार्यले मात्र मुलुक समृद्धिको बाटोमा हिँड्न सक्ने मुख्यमन्त्री गुरुङको जोड थियो । स्रोत साधनको पहिचान गरेर बन्दीपुर गाउँपालिकाले गण्डकी प्रदेशको समृद्धिमा महत्वपूर्ण योगदान दिन सक्ने गुरुङको भनाई थियो ।
गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले बन्दीपुरले विकासको गोरेटे कोरेको बताउँदै अब आउने जनप्रतिनिधिले पनि त्यही बाटो समात्नुपर्नेमा जोड दिनुभयो । भौतिक पूर्वाधारसँगै सामाजिक, आर्थिक, सांस्कृतिक पक्षको विकासलाई प्राथमिकतामा दिनुपर्ने मन्त्री चुमानको भनाई थियो ।
गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. गिरीधारी शर्माले पर्यटनलाई उत्पादनसँग जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो । गुरुयोजना निर्माण समितिका संयोजक हेमराज लामिछानेले बन्दीपुर घर भई काठमाडौ, चितवन लगायत अन्यत्र बस्ने व्यक्तिहरुसँग पनि सुझाव सङ्कलन गरी गुरुयोजना बनाइएको बताउनुभयो ।
गाउँपालिकाले निर्माण गरेको गुरुयोजनाले पर्यटन, कृषि तथा पशुपंक्षीजन्य, लघुउद्यम, भौतिक पूर्वाधार र सांस्कृतिक सम्पदाको संरक्षणलाई एकीकृत गर्दै समृद्ध बन्दीपुर र सुखी बन्दीपुरवासीको परिकल्पना गरेको अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो । गाउँपालिकाले समग्र बन्दीपुरको विकासको सम्भावना पर्यटन व्यवसायबाट हुने विश्वास लिएको बताउँदै थापाले पर्यटनलाई कृषि र जीविकोपार्जनका अन्य व्यवसायसँग एकीकृत गर्न खोजिएको बताउनुभयो ।
बन्दीपुरको प्राकृतिक सौन्दर्य र उर्भरा भूमिमा परिश्रमी र न्यायप्रेमी जनताको मिहिनेत थप समाहित हुँदा दिगो आर्थिक विकास सहितको समृद्धि हासिल गर्न सकिने गाउँपालिकाका उपाध्यक्ष करुणा गुरुङले बताउनुभयो ।