दुलेगौँडा : शुक्लागण्डकी नगरपालिकाका बाख्रापालक कृषकसँग अभिमुखीकरण कार्यक्रम गरेको छ । शुक्लागण्डकी नगरपालिका पशु सेवा शाखाले यहाँको तीन वडाका कृषकसँग अभिमुखीकरण कार्यक्रम गरेको हो ।
मंगलबार वडा नम्बर १० छब्दी देउराली र वडा नम्बर ५ नयाँगाउँका कृषकसँग अभिमुखीकरण कार्यक्रम भयो । सङ्घीय सरकारको शसर्त अनुदानमा छब्दी देउरालीमा १२ लाख १० हजार रुपैयाँको र नयाँ गाउँमा ७ लाख ४३ हजार रुपैयाँको बाख्रा प्रर्बद्धन कार्यक्रम हुँदैछ । यी दुई वडाको कृषकसँग भएको अभिमुखीकरण कार्यक्रममा शुक्लागण्डकी–१० का वडाध्यक्ष रामचन्द्र भण्डारी, आर्थिक विकास शाखा प्रमुख नवराज पण्डित, पशु सेवा शाखा प्रमुख ईश्वर रेग्मीले बोल्नुभएको थियो ।
यस्तै, बुधबार वडा नम्बर १२ फिरफिरेका कृषकसँग अभिमुखीकरण कार्यक्रम भयो । यो वडामा चालु आर्थिक वर्षमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाख्राको साना व्यावसायिक कृषि उत्पादन केन्द्र (पकेट) विकास कार्यक्रम सञ्चालन हुदैछ ।
यसका लागि १५ लाख रुपैयाँ बजेट विनियोजन भएको पशु सेवा शाखा प्रमुख ईश्वर रेग्मीले बताउनुभयो । अभिमुखीकरणमा कार्यक्रम सञ्चालनको प्रकृयाबारे किसानलाई जानकारी गराईएको उहाँले उल्लेख गर्नुभयो ।