तनहुँ : तनहुँको शुक्लागण्डकी नगरपालिकाको आयोजनामा शुक्रबारदेखि शुरु प्रथम मेयर कप प्रदेशस्तरीय भलिबल प्रतियोगिताको दोस्रो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (ए) विजयी भएको छ ।
तनहुँको देवघाट गाउँपालिकासँग भएको खेलमा शुक्लागण्डकी सोझो सेटमा विजयी भएको हो । शुक्लागण्डकीले देवघाटलाई २५–२१ र २७–२५ ले हराएको छ । तेस्रो खेल तनहुँकै व्यास नगरपालिका र स्याङ्जाको हरिनास गाउँपालिकाबीच हुँदैछ ।
शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दीस्थित गाउँफर्कोदय माध्यमिक विद्यालयको खेलमैदानमा भएको पहिलो खेलमा आयोजक शुक्लागण्डकी नगरपालिका (बि) लाई पराजित गर्दै मादी गाउँपालिका विजयी भएको थियो । मादीले शुक्लागण्डकी (बि)लाई २५–१७ र २५–१७ को सोझो सेटले हराएको हो ।
प्रतियोगितामा स्याङ्जाको पुतलीबजार नगरपालिका, कालीगण्डकी नगरपालिका, हरिनास गाउँपालिका, कास्कीको पोखरा महानगरपालिका, मादी गाउँपालिका, बागलुङको गलकोट नगरपालिका, तनहुँको ऋषिङ गाउँपालिका, भीमाद नगरपालिका, म्याग्दे गाउँपालिका, देवघाट गाउँपालिका, घिरिङ गाउँपालिका, व्यास नगरपालिका र नवलपुरको बौदीकालिका गाउँपालिकाको सहभागिता रहेको प्रतियोगिता व्यवस्थापन समितिका संयोजक दीर्घबहादुर थापाले जानकारी दिनुभयो ।
प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेलाई क्रमशः रु एक लाख ५० हजार, रु एक लाख, रु ५० हजार र रु २५ हजार नगदका साथै शिल्ड र कप प्रदान गरिनेछ । उत्कृष्ट खेलाडीलाई रु दश हजार प्रदान गरिने प्रतियोगितामा उत्कृष्ट स्पाइकर, उत्कष्ट ब्लकर, उत्कृष्ट डिफेन्डरलाई पनि रु पाँच÷पाँच हजार नगद पुरस्कार प्रदान गरिनेछ ।