स्व. जोशी इमानदार र योग्य नेता : वरिष्ठ नेता पौडेल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    स्व. जोशी इमानदार र योग्य नेता : वरिष्ठ नेता पौडेल

    खबरपुञ्ज संवाददाता

    १८ चैत्र २०७७, बिहीबार

    तनहुँ : नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्व. नवीन्द्रराज जोशी इमानदार र योग्य दुवै भएको बताउनुभएको छ । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य स्व. नवीन्द्रराज जोशीको सातौ दिनको पुण्यतिथिमा बिहीबार देवघाटमा आयोजित अस्तु बिसर्जन तथा श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै वरिष्ठ नेता पौडेलले जनताका माझ अत्यन्त लोकप्रिय नेतालाई गुमाउनुपर्दा देशले ठूलो क्षति बेहोरेको उल्लेख गर्नुभयो ।

    “नेपाली राजनीतिमा योग्य र इमानदार मान्छे पनि गाह्रो हुन्छ, स्व. नवीन्द्रराज जोशी इमानदार र योग्य दुवै हुनुहुन्थ्यो,” वरिष्ठ नेता पौडेलले भन्नुभयो, “कोही मान्छे इमानदार हुन्छन् तर योग्य हुँदैनन्, कोही योग्य हुन्छन् इमानदार हुँदैनन् ।” नेपाली काङ्ग्रेस पार्टीका लागि नवीन्द्रराज जोशी अनुकरणीय नेता रहेको पौडेलको भनाई थियो ।

    नेता जोशीको अभाव पूर्ति काङ्ग्रेसले गर्न सक्छ की सक्दैन भन्नेमा आफूलाई चिन्ता लागेको वरिष्ठ नेता पौडेलले बताउनुभयो । देशको प्रणालीमा आइरहेको सङ्कट बचाउन स्व. जोशीले खेलेको भूमिकाको सराहना गर्दै नेता पौडेलले स्वर्गीय जोशीको सपनालाई पूरा गर्न सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो । “देशमा स्वतन्त्रता र जनतालाई समानता दिलाउन जोशीले जसरी आफ्नो जीवन समर्पण गर्नुभयो, त्यो सपनालाई हामीले पूरा गर्नुपर्छ,” पौडेलले भन्नुभयो ।

    वर्तमान समयमा पनि देशको लोकतन्त्रमाथि कालो बादल छाइरहेको भन्दै नेता पौडेलले यस विषयमा पनि सतर्क हुनुपर्ने बेला आएको बताउनुभयो ।