नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    नयाँ वर्ष नजिकिएसँगै बन्दीपुरमा पर्यटकको चहलपहल

    खबरपुञ्ज संवाददाता

    ३० चैत्र २०७७, मंगलवार

    तनहुँ : नयाँ वर्ष नजिकिएसँगै तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । नेपाली नयाँ वर्ष नजिकिँदै गर्दा बन्दीपुर भ्रमणका लागि आन्तरिक पाहुना आउन थालेका हुन् ।

    नयाँ वर्षको क्रममा बन्दीपुरमा हरेक वर्ष पर्यटकको घुइँचो लाग्ने गर्दछ । तर गत वर्ष भने कोभिड महामारीका कारण बन्दीपुर सुनसान रह्यो । तर बिस्तारै बन्दीपुरमा पर्यटकको आगमन वृद्धि हुन थालेको बन्दीपुर पर्यटन विकास समितिका पूर्व अध्यक्ष वैश गुरुङले जानकारी दिनुभयो । “अहिले नयाँ वर्षको पूर्वसन्ध्यामा बन्दीपुरमा आन्तरिक पर्यटकको आगमन बाक्लिदै गएको छ,” उहाँले भन्नुभयो । उहाँका अनुसार अहिले दैनिक तीन सय भन्दा बढी आन्तरिक पर्यटक बन्दीपुर भित्रिएका छन् ।

    नयाँ वर्षलाई लक्षित गरी बन्दीपुरका होटल व्यवसायीले छुटका कार्यक्रम समेत ल्याएका छन् । नयाँ वर्षका क्रममा होटल व्यवसायीले साङ्गितिक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएका छन् । “ठूलो स्टेज कार्यक्रम त केही छैन, तर सबै व्यवसायीले आफ्नो होटल अगाडी खाना महोत्सव साथसाथै साङ्गितिक कार्यक्रम गर्ने सोच बनाएका छन्,” गुरुङले भन्नुभयो ।

    बन्दीपुरमा होटल सङ्मा आबद्ध ७७ होटल छन् । बन्दीपुरमा ग्रिनपार्क, होटल दरबार हिमालय फेवा, गामघर, वोल्डईन, बन्दीपुर माउण्टेन रिसोर्ट, बन्दिपुर प्यालेस, मगर भिजेल लगायत होटल सञ्चालन छ । बन्दीपुरबाट अन्नपूर्ण, माछापुच्छे«, धौलागिरी लगायतका हिमश्रृङ्खला देखिन्छ । भक्तपुरे शैलीमा निर्माण गरिएको घरहरु, टुँडिखेल, थानीमाई, तीनधारा, रानीबन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थलहरु यहाँ आउने पर्यटकहरुको आकर्षणको केन्द्रबिन्दु बन्ने गरेको छ ।

    बन्दीपुरले पर्यटक आकर्षित गर्न विभिन्न पूर्वाधार निर्माणलाई जोड दिइरहेको छ । चीनको ग्रेटवालको झल्को दिने गरी निर्माण भइरहेको मिनी ग्रेटवालले पनि पर्यटकको ध्यान खिच्ने गरेको छ । निर्माणाधीन अवस्थामा रहेको मिनी ग्रेटवाल अवलोकनका लागि पर्यटक पुग्ने गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिनुभयो ।

    बन्दीपुर घुम्न आएका सबैजसोले उक्त ठाउँको बारेमा चासो लिने गरेका छन् । “बन्दीपुरमा नयाँ–नयाँ पूर्वाधार थप गर्ने उद्देश्य बमोजिम मिनी ग्रेटवाल निर्माण थालेका हौ, मिनी ग्रेटवाल निर्माणका लागि सरकारले पनि यो वर्ष बजेट सहयोग गरेको छ,” थापाले भन्नुभयो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट बजेट विनियोजन भएपछि कामलाई अगाडी बढाउन सहज हुने उहाँले बताउनुभयो । उहाँका अनुसार गत वर्ष एक हजार एक सय मिटर पदमार्ग निर्माण सम्पन्न भएको छ भने चालु आर्थिक वर्षमा पनि ३५ मिटर पदमार्ग निर्माण सम्पन्न भइसकेको छ ।

    गत वर्ष रु ७० लाख खर्च भएकामा चालु आर्थिक वर्षमा रु तीस लाखको काम भइरहेको छ । “पर्यटन मन्त्रालयको बजेटबाट शुरुवाती विन्दुबाट मिनी ग्रेटवालको कामलाई अन्तिम रुप दिने तयारी गरेका छौ,” उहाँले भन्नुभयो । कूल साढे दुई किलोमिटर दूरी रहने मिनी ग्रेटवालसँगै यहाँ थप पूर्वाधार निर्माण गर्ने योजना छ । गुरुयोजना अनुसारका पूर्वाधार निर्माणका लागि रु १९ करोड लागत इष्टमेट गरिएको अध्यक्ष थापाले बताउनुभयो ।

    यहाँ थानीमाई मन्दिर, उद्यान, सेल्फी उद्यान, प्याराग्लाइडिङ गर्ने ठाउँ, ९ मिटर अग्लो बन्दीपुर लेखिएको स्तम्भ, घोडा शयर, पुष्पलाल स्मृति पार्क, मुकुन्देश्वरी पार्क लगायतका संरचना निर्माण गर्ने योजना छ ।