एमालेको दशवटै स्थानीय कमिटीमा जिम्मेवारी हेरफेर, अरु के भए निर्णय ? (भिडिओ सहित)
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    एमालेको दशवटै स्थानीय कमिटीमा जिम्मेवारी हेरफेर, अरु के भए निर्णय ? (भिडिओ सहित)

    खबरपुञ्ज संवाददाता

    ३१ चैत्र २०७७, मंगलवार

    तनहुँ : नेकपा एमाले तनहुँले जिल्लाका दशवटै स्थानीय कमिटीमा जिम्मेवारी हेरफेर गरेको छ । सर्वोच्चको फैसलासँगै व्युँतिएको पार्टीको सोमबार सम्पन्न पहिलो बैठकले जिल्लाका चार नगरपालिका र छ गाउँपालिकाको कमिटीमा जिम्मेवारी हेरफेर गरेको हो ।

    बैठकले व्यास नगर कमिटीको इन्चार्जमा प्रदीपराज अधिकारी, अध्यक्षमा कृष्णप्रसाद न्यौपाने र सचिवमा निर्मल पण्डितलाई जिम्मेवारी दिएको मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका जिल्ला अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य केदार सिग्देलले जानकारी दिनुभयो । त्यस्तै भानुको इन्चार्जमा सीताराम बजगाई, अध्यक्षमा प्रेम राना र सचिवमा गोविन्द पौडेललाई जिम्मेवारी दिइएको छ ।

    शुक्लागण्डकी नगर कमिटीको इन्चार्जमा देवलाल खनाल, अध्यक्षमा मुक्ति तिमिल्सिना र सचिवमा रघुनाथ पौडेललाई जिम्मेवारी दिइएको छ । भीमाद नगर कमिटीको इन्चार्जमा धर्म खनाल, अध्यक्षमा इमानबहादुर थापा र सचिवमा उमाकान्त श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । देवघाट गाउँ कमिटीको इन्चार्जमा बाबुराम अधिकारी, अध्यक्षमा केशवचन्द्र न्यौपाने र सचिवमा भीमबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ ।

    आँबुखैरेनी गाउँ कमिटीको इन्चार्जमा ऋषि केसी, अध्यक्षमा मिना अधिकारी र सचिवमा दिलबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । बन्दीपुर गाउँ कमिटीको इन्चार्जमा इन्द्रबहादुर कुंवर, अध्यक्षमा सुरेन्द्र थापा र सचिवमा कुलेन्द्र गौतमलाई जिम्मेवारी दिइएको छ । म्याग्दे गाउँ कमिटीको इन्चार्जमा रत्नादेवी घिमिरे, अध्यक्षमा भीमबहादुर विक र सचिवमा सोमबहादुर आलेलाई जिम्मेवारी दिइएको छ ।

    घिरिङ गाउँ कमिटीको इन्चार्जमा होमबहादुर थापा, अध्यक्षमा इन्द्रबहादुर थापा र सचिवमा भुवन विश्वकर्मालाई जिम्मेवारी दिइएको छ । ऋषिङ गाउँ कमिटीको इन्चार्जमा हरिराज कडेल, अध्यक्षमा गञ्जसिं गुरुङ र सचिवमा प्रेम रानाभाटलाई जिम्मेवारी दिइएको छ । स्थानीय कमिटीमा जिम्मेवार हेरफेर भएसँगै उक्त कमिटीको बैठक मिति समेत तय गरिएको अध्यक्ष सिग्देलले जानकारी दिनुभयो । जिल्लाका ८५ वटै वडा कमिटीको वैशाख १८ गतेभित्र बैठक तोकिएको छ ।

    बैठकले पार्टी सदस्यता नवीकरण जेठ १५ गतेभित्र गरिसक्ने निर्णय गरेको छ । सोही क्रममा नयाँ सदस्यता वितरण अभियान पनि सँगसँगै अगाडी बढाइने सिग्देलले बताउनुभयो । “केही नेता समानान्तर कमिटीमा लागेकाले उनीहरुको ठाउँमा नयाँलाई जिम्मेवारी दिएका छौ,” उहाँले भन्नुभयो । बैठकले जिम्मेवारी थप, नियुक्ति लगायतका सिफारिस गर्न अध्यक्ष सिग्देलको अध्यक्षतामा ९ सदस्यीय कार्यदल गठन गरेको छ ।

    समानान्तर कमिटीमा लागेकालाई पार्टीमा जबरजस्ती नराखिने भन्दै सिग्देलले त्यस्ता नेताहरुलाई स्पष्टीकरण सोधेर कारवाही प्रकृया अगाडी बढाइने जानकारी दिनुभयो । “नेकपा एमालेमा नरहेको उहाँहरुले घोषणा गरेपछि कारवाही प्रकृया अगाडी बढ्छ,” उहाँले भन्नुभयो ।

    पत्रकार सम्मेलनमा पार्टी सचिव एवं राष्ट्रियसभा सदस्य भगवती न्यौपानेले पार्टीलाई थप व्यवस्थित र सङ्गठित बनाइने बताउनुभयो । जिल्लामा समानान्तर कमिटी बनाउने क्रममा एमालेका नेता कार्यकर्तालाई नसोधीकन नाम राखिएकाले उहॉहरु मूलधारमै फर्किने तयारी गरेको जानकारी दिनुभयो ।