तनहुँ : नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले नेकपा माओवादी केन्द्रलाई अब भूगोलमा होइन गुगलमा खोज्नुपर्ने दिन आउने बताउनुभएको छ । राष्ट्रिय युवा सङ्घ नेपाल तनहुँले मङ्गलबार दमौलीमा आयोजना गरेको जिल्लाभेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री बस्नेतले आउँदो निर्वाचनसम्म प्रचण्डको पार्टीलाई गुगलमा खोज्नुपर्ने दिन आउने चेतावनी दिनुभयो ।
प्रचण्ड पार्टीभित्रै एक्लिदै गइरहेको र उक्त पार्टीका नेताहरु एमालेमा प्रवेश गरिरहेकाले नेकपा माओवादी केन्द्रको भविष्य नरहेको बस्नेतले उल्लेख गर्नुभयो । “माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य र प्रदेश सभा सदस्य एमालेमा आइरहनुभएको छ, आगामी निर्वाचनसम्म त्यो सङ्ख्या अझै बढ्ने निश्चित छ,” बस्नेतले भन्नुभयो ।
पूर्वमन्त्री बस्नेतले केपी ओली समृद्धिको नेता र प्रचण्ड, माधव र झलनाथ विभाजनको नेता भएको उल्लेख गर्नुभयो । “केपी ओलीको पार्टी एमाले हो, माधव झलनाथहरु विमाले हुन्, विमाले भनेको विभाजन, विखण्डन, विकृति हो,” बस्नेतले भन्नुभयो । पार्टीमा समानान्तर गतिविधि सञ्चालन गर्ने माधव नेपालको राजनीतिक भविष्य अन्धकारतर्फ अगाडी बढेको बस्नेतको भनाई थियो । “आगामी निर्वाचनसम्म माधव नेपालले पार्टी विभाजन गराउनुहुन्छ, त्यसपछि प्रचण्डसँग मिलेर एमालेलाई हराउने खेल हुन्छ,” बस्नेतले भन्नुभयो, “त्यसका विरुद्ध सम्पूर्ण युवाहरु एक हुनुपर्छ ।”
बस्नेतले राजनीति विकास र समृद्धिका लागि हो भन्ने कुरा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमाणित गर्नुभएको बताउनुभयो । “राजनीति गर्ने भनेको जनतालाई सुख दिन हो, विकास दिनका लागि हो, त्यो कुरा अहिलेको सरकारले कामबाटै प्रमाणित गरेको छ,” बस्नेतले भन्नुभयो, “सरकारले गरेको कामबाट विरोधी आत्तिएका छन् ।” पूर्वमन्त्री बस्नेतले केपी ओलीको लोकप्रियताका कारण राजनीति मन नपराउनेहरु पनि आज केपी ओलीप्रति आकर्षित भइरहेको दावी गर्नुभयो ।
बस्नेतले नेपालको राजनीति केपी ओलीको वरिपरि घुमिरहेको चर्चा गर्दै भन्नुभयो, “समर्थनमा बोलेपनि विरोधमा बोलेपनि सबै केपी ओलीकै बारेमा बोलिरहेका छन्, यसले पनि पुष्टि गर्छ की नेपालको राजनीतिको नायक केपी ओली नै हुनुहुन्छ ।” उहाँले राजनीतिमा गलत चिज हावी हुन लागेको भन्दै त्यसका विरुद्धमा युवाले प्रतिबाद गर्नुपर्नेमा जोड दिनुभयो । “नेपालको राजनीतिलाई शान्ति, स्थिरता, विकास र समृद्धितर्फ लैजाने वर्तमान सरकार दृढ छ,” उहाँले भन्नुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा सङ्घका केन्द्रीय अध्यक्ष बच्चनबहादुर सिंहले युवाहरु उत्पादनमा लाग्दै समृद्धिमा जोडिनुपर्नेमा जोड दिनुभयो । नेकपा एमालेका जिल्ला अध्यक्ष केदार सिग्देलले केपी ओली नेतृत्वमा देश विकास सम्भव रहेको उल्लेख गर्नुभयो । गण्डकी प्रदेशसभा सदस्य राजिव पहारीले अरु पार्टीको भर परेर एमालेलाई कमजोर बनाउने षड्यन्त्र पूरा हुन नदिइने बताउनुभयो ।
युवा सङ्घका जिल्ला संयाेजक उज्वल खनालकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ, राष्ट्रियसभा सदस्य भगवती न्यौपाने, एमाले जिल्ला उपसचिव विष्णुभक्त सिग्देल लगायतले एमालेलाई बलियो पार्टी बनाउन सबै कार्यकर्ता लाग्नुपर्नेमा जोड दिनुभयो ।