बेरोजगारलाई सीप सिकाउँदै वडा कार्यालय
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    बेरोजगारलाई सीप सिकाउँदै वडा कार्यालय

    खबरपुञ्ज संवाददाता

    १ बैशाख २०७८, बिहीबार

    दुलेगौँडा : शुक्लागण्डकी नगरपालिका वडा नम्बर ८ को कार्यालय ढोरफिर्दीले बेरोजगार युवा युवती र गृहणी महिलालाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बन्न प्रेरित गरेको छ । जनप्रतिनिधि निर्वाचित भएर आएपछि वडा कार्यालयले वर्षेनी सयौँलाई सीपमूलक तालिम दिएकाे छ ।


    यो वर्ष पनि सीपमूलक तालिम अभियानले निरन्तरता पाएको छ । पछिल्लो पटक वडाका गृहिणी महिला र युवा युवतीलाई लक्षित गर्दै सिलाई कटाइ र च्याउखेती तालिम दिईएको छ ।


    तनहुँ प्राविधिक शिक्षालय भिमादसँगको सहकार्यमा वडा कार्यलयले २०/२० जनालाइ सिलाईकटाइ र च्याउखेती सम्बन्धि पहिलो तहको तालिम दिइएको हो । ६५ दिने (३९० घण्टे) तालिम लिएकालाई बिहीबार प्रमाणपत्र समेत वितरण गरिएको छ ।

    तालिम लिएपछि आत्मानिर्भर बन्नलाई उत्साह जागेको सिलाई कटाइ तालिममा सहभागी लक्ष्मी श्रेष्ठले बताउनुभयो ।


    च्याउखेती तालिम लिएकी सिर्जना वाग्लेले थोरै लगानीमा उत्पादनसँग जोडिएर आत्मानिर्भर बन्न सिकाएको उल्लेख गर्नुभयो । उहाँले अबको फुर्सदको समयलाइ सदुपयोग गर्दै उत्पादनमा लाग्ने प्रण गरेको बताउनुभयो ।


    सो अवसरमा बोल्दै तनहुँ प्राविधिक शिक्षालयका प्रमुख परशुराम खनालले जीवन उपयोगी सीप सिकेकाले अब त्यसलाई प्रयोग गर्न अनुरोध गर्नुभयो । उहाँले सीपसँगै लगन र लगानीको तारतम्य मिलेमा आत्मानिर्भर बन्न सकिने बताउनुभयो ।

    हालसम्म वडा कार्यालयले ६ सय ४० जनालाई सीपमूलक तालिम दिएको वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो । पूर्वाधार विकाससँगै वडाबासीको व्यक्तित्व र नेतृत्व बिकास आवश्यक हुने भएकाले सीपमूलक तालिममा जोड दिएको उहाँको भनाई छ । ‘बाटो कालोपत्रे गर्नुमात्रै बिकास होईन् ’, उहाँले भन्नुभयो , ‘वडाका हरेक नागरिक रोजगारी र उत्पादनसंग जोडिनुलाई बिकास ठान्नुपर्छ ।’


    वडाले विभिन्न संघ संस्थासंग सहकार्य गर्दै सिलाई कटाइ, च्याउखेती, मोबाईल रिपियररिङ, ब्युटिसियन, हाउसवायरिङ लगायतको तालिम दिने गरेको छ । तालिम लिएका ४० प्रतिशत आत्मानिर्भर बनेको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । सिपमुलक तालिम लिएपछि स्वदेशमा आत्मानिर्भर हुनुका साथै विदेशमा पनि मनग्य कमाई हुने उहाँको भनाई छ ।