तनहुँ : तनहुँ उद्योग वाणिज्य सङ्घको अध्यक्षमा पविन्द्रकुमार श्रेष्ठ निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न मतगणना अनुसार ८ सय ६ मत प्राप्त गरी श्रेष्ठ सङ्घको अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी बैकुण्ठनाथ मिश्रले ६ सय ६५ मत प्राप्त गर्नुभएको छ । अध्यक्षमा निर्वाचित श्रेष्ठ सङ्घको पूर्व महासचिव हुनुहुन्छ । निर्वाचनमा कूल एक हजार ९ सय ५० मध्ये एक हजार चार सय ९४ मत खसेको थियो ।
अध्यक्षमा प्रतिस्पर्धी दुवै उम्मेदवार लोकतान्त्रिक खेमाका उम्मेदवार हुनुहुन्छ । पविन्द्रकुमार श्रेष्ठलाई नेपाली काङ्ग्रेसले आधिकारिक उम्मेदवार बनाएको थियो ।
सङ्घको पदाधिकारी भने यसअघि नै निर्विरोध निर्वाचित भइसक्नुभएको छ । प्रथम उपाध्यक्षमा इमकुमार मल्ल, द्वितीय उपाध्यक्षमा कुमार मल्ल, कोषाध्यक्षमा दिनेशकुमार श्रेष्ठ निर्वाचित हुनुभएको भने वस्तुगत सदस्यमा शिवओम मल्ल र वस्तुगत सदस्यमा तनहुँ सुनचाँदी व्यवसायी सङ्घ निर्वाचित भएको तनहुँ उद्योग वाणिज्य सङ्घले जनाएको छ । महासचिव पद भने अध्यक्षले मनोनित गर्ने व्यवस्था छ ।