दुलेगाैडा : तनहुँको ढोरफिर्दीमा शीत भण्डार बन्ने भएको छ । शुक्लागण्डकी नगरपालिका र सङ्घीय सरकारको दुई करोड ३२ लाख ५० हजार रुपैयाँको लगानीमा भण्डार बन्न लागेको हो । शुक्लागण्डकी नगरपालिका–८ ढोरफिर्दी सङ्गम टोलस्थित सार्वजनिक जग्गामा बन्ने शीत भण्डार दुई सय टन क्षमताको हुनेछ ।
शीतभण्डारको शुक्लागण्डकीका नगरप्रमुख किसान गुरुङले शिलान्यास गर्नुभएको छ । गुरुङले किसानको उत्पादन सही समयमा बजारमा पु¥याउन शीतभण्डार अतिआवश्यक रहने बताउनुभयो । किसानको माग अनुसार निर्माणको थालनी भएको उहाँको भनाई छ । ‘शीत भण्डार बनेपछि किसानले व्यावसायिक तबरले कृषि उपज उत्पादन सक्नुहुनेछ,’ उहाँले अगाडी थप्नुभयो, ‘आफूलाई चाहिने भन्दा धेरै उत्पादन गर्दै भण्डारमा राखेर राम्रो मूल्य पाउने समयमा बेच्न सकिन्छ ।’
शीतभण्डार निर्माणको ठेक्का जय नेपाल इश्वर सीता बिल्डर्स जेभीले पाएको छ । गत चैत १९ गते निर्माण कम्पनीसँग सम्झौता भएको हो । सम्झौता अनुसार अगामी पुस मसान्तसम्म निर्माण सक्नुपर्ने हुन्छ । चालु आर्थिक वर्षमा भण्डार निर्माणको शीर्षकमा एक करोड ५० लाख रुपैयाँ बजेट छ । सङ्घीय सरकारले शसर्त अनुदानमा एक करोड रुपैयाँ उपलब्ध गराएको छ भने शुक्लागण्डकी नगरपालिकाले ५० लाख रुपैयाँ छुट्याएको छ ।
बाँकी ८२ लाख ५० हजार रुपैयाँ आगामी वर्ष खर्च गरिनेछ । यो योजनामा सङ्घ र प्रदेशबाट बजेट नआएको खण्डमा नगरले नै स्रोत उपलब्ध गराउने बोर्ड बैठकले निर्णय गरेको शुक्लागण्डकी–८ का अध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिरहेको शुक्लागण्डकीले ८ नम्बर वडामा आलु उत्पादनको कार्यक्रम चलाएको छ । उक्त कार्यक्रमलाई सघाउन सङ्घीय सरकारले यो वर्षदेखि साझेदारीमा राष्ट्रिय मसला तथा आलु वाली विकास कार्यक्रम अन्र्तगत आलु पकेट कार्यक्रम सञ्चालन ग¥यो । सङ्घीय सरकारको २४ लाख र कृषकले साढे १६ लाख रुपैयाँ व्यहोर्ने गरी ४१ लाख रुपैयाँको कार्यक्रम यो वर्ष भएको हो ।
सरकारी अनुदानले हौसिएका वडाका कृषकले यो वर्ष १ सय ५० टन आलु उत्पादन गरेको वडाध्यक्ष रेग्मीले जानकारी दिनुभयो । २४ टन आलु यहाँका कृषकले पोखराका शीतभण्डार अर्थात कोल्डस्टोरमा पु¥याएका छन् । शीतभण्डारमा आलु लैजान वडा कार्यालयले ढुवानीको व्यवस्था गरिदिएको उहाँले बताउनुभयो । ‘कोल्डस्टोरमा लान र ल्याउन वडाबाट १ लाख रुपैयाँ बजेट नै छुट्याएका छौँ,’ वडाध्यक्ष रेग्मीले भन्नुभयो ।
यो क्षेत्रमा पहिल्यै शीतभण्डार बनाउनुपर्ने किसानहरुको माग थियो । तर, ढिलै भएपनि माग सम्बोधन भएर निर्माण शुरु भएपछि आशावादी बनेका छन् । ‘पहिल्यैदेखी यहाँ शीत भण्डार चाहिएको थियो’, मिलन कृषक समूहका अध्यक्ष रमेश महतले भन्नुभयो, ‘यो वर्षदेखि निर्माण शुरु भएको छ । समयमै सम्पन्न होस् । निर्माण सम्पन्न भएपछि हामी कृषकको पसिनाले बल्ल मूल्य पाउनेमा आशावादी छौ ।’
अहिले शीतभण्डारसम्म कृषि उपज लैजान टाढा पर्ने भएकाले कृषकले लगानी नै नउठ्ने गरी उत्पादित वस्तु बिक्री गर्नुपरेको उहाँले सुनाउनुभयो । ‘मूल्य बढेको बेला बेच्न राख्यो भने झन् कुहिएर जान्छ की भन्ने डर । बेलैमा बेच्यो मूल्य नै नपर्ने,’ उहाँले भन्नुभयो ।