तनहुँ : तनहुँ जलविद्युत आयोजनाबाट प्रभावित महिलालाई सिलाईकटाई तालिम प्रदान गरिएको छ । आयोजनाबाट प्रभावित महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले तनहुँ हाइड्रोपावर लिमिटेडले सीपमूलक तालिम प्रदान गरेको हो ।
आयोजनाले प्रभावित क्षेत्र भिमाद नगरपालिका, म्याग्दे गाउँपालिका र ऋषिङ गाउँपालिकाका २० जना महिलालाई ६५ दिने सिलाई कटाई तालिम प्रदान गरेको सहनिर्देशक भोला शर्माले जानकारी दिनुभयो । गत फागुन दोस्रो साताबाट तालिम सञ्चालन गरिएको थियो ।
“प्रभावित महिलालाई उद्यमी बनाउँदै आत्मनिर्भर बनाउने उद्देश्यले सिलाईकटाई तालिम सञ्चालन ग¥र्यौ,” शर्माले भन्नुभयो, “तालिम लिएकाहरुले उद्यम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।” तनहुँ जलविद्युत आयोजनाको सार्वजनिक सूचना केन्द्र कार्यालयमा आयोजित तालिममा तनहुँ प्राविधिक शिक्षालयले सहजीकरण गरेको थियो ।
आयोजनाले प्रभावित व्यक्तिको मागबमोजिम सीपमूलक तालिम सञ्चालन गर्ने लक्ष्य लिएको छ । “प्रभावित व्यक्तिको घरमा पुगेर अध्ययन गर्छौ र जे तालिमको माग हुन्छ सोही बमोजिम तालिम सञ्चालन गर्ने तयारीमा छौ,” शर्माले भन्नुभयो । उहाँका अनुसार आयोजना प्रभावितले सिलाईकटाई, तरकारी खेती, व्युटिसियन, प्लम्बिङ लगायतका तालिमको माग गरेका छन् । आयोजना प्रभावित एक हजारलाई सीपमूलक तालिम प्रदान गरिनेछ ।
“वातावरणीय र सामाजिक व्यवस्थापन सेवाप्रदायक संस्थाबाट घर–घरमा पुगेर सर्भे गर्ने गरिएको छ, उक्त सर्भेका क्रममा आयोजना प्रभावित व्यक्तिहरुलाई आत्मनिर्भर बनाउने खालका तालिमका लागि आवेदन माग गर्छौ,” उहाँले भन्नुभयो, “त्यसपछि प्रभावितले माग गरेबमोजिमका तालिम सञ्चालन गछौ ।”
तनहुँ जलविद्युत आयोजनाले सीपमूलक तालिम सञ्चालन गर्नुका साथै आयोजना प्रभावित क्षेत्रका बालबालिकालाई छात्रवृत्ति रकम समेत प्रदान गर्दै आइरहेको छ । सोही रणनीति बमोजिम आयोजनाले केही समय अगाडी ऋषिङ गाउँपालिका–१ झापुटारस्थित शुक्ला माध्यमिक विद्यालयका दश जना विद्यार्थीलाई रु एक लाख सात हजार छात्रवृत्ति रकम प्रदान गरेको थियो ।