तनहुँ : दोस्रो भेरियन्ट सहितको कोरोना जोखिम बढेपछि तनहुँका सबै पालिकामा वार्षिक परीक्षा स्थगित भएको छ । विद्यालयमा पठनपाठन बन्द गरेर परीक्षा लिने तयारीमा जुटेका जिल्लाका सबै पालिकाले कोरोना सङ्क्रमणको जोखिम बढेपछि अन्तिम समयमा आएर परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन् ।
जिल्लाका व्यास नगरपालिका, आँबुखैरेनी गाउँपालिका, बन्दीपुर गाउँपालिका, देवघाट गाउँपालिका, शुक्लागण्डकी नगरपालिका लगायतले वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेका हुन् ।
व्यास नगरपालिकाले आज बैठक बसी वैशाख २१ गतेदेखि सञ्चालन हुन लागेको परीक्षा स्थगित गरेको जनाएको छ । शिक्षा मन्त्रालय, जिल्ला सङ्कट व्यवस्थापन केन्द्र, छिमेकी पालिकाको निर्णय समेतलाई अध्ययन गरी विद्यालयका प्रधानाध्यापक, सामुदायिक एवं निजी विद्यालयका शिक्षक सङ्घसङ्गठनका प्रतिनिधि समेतको सहभागितामा बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरेको शिक्षा शाखा प्रमुख नगेन्द्रप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
नगरपालिकाले ट्युसन कक्षा समेत पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ । २०७८ वैशाख मसान्तसम्म पूर्व निर्धारित सम्पूर्ण परीक्षा स्थगित गर्ने निर्णय हुनुका साथै विद्यालय प्रशासन, निर्माण कार्य, आन्तरिक अन्य कार्यका लागि बढीमा दशजना सम्मको शिक्षक कर्मचारीबाट आलोपालो उपस्थिति गराउने व्यवस्था मिलाउन विद्यालयका प्रधानाध्यापकलाई निर्देशन दिइएको रेग्मीले जानकारी दिनुभयो । रेग्मीका अनुसार स्थगित परीक्षा सञ्चालन कहिलेबाट गर्ने भन्ने विषयमा जेठको पहिलो हप्ता आवश्यक निर्णय लिइनेछ ।
यसैगरी आँबुखैरेनी गाउँपालिकाले पनि वार्षिक परीक्षा स्थगित गर्ने निर्णय गरेको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले परीक्षा स्थगित गरिएको जानकारी दिनुभयो ।
म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले वैशाख १६ गते बसेको बैठकले परीक्षा स्थगित गर्ने निर्णय गरिसकेको जानकारी दिनुभयो । देवघाट गाउँपालिकाले पनि आज सूचना प्रकाशित गरी परीक्षा स्थगित भएको जानकारी दिएको छ । अर्को सूचना नभएसम्मका लागि सबै प्रकारका परीक्षा स्थगित गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नरहरि सापकोटाले जानकारी दिनुभयो ।