तनहुँ : अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्ने ६ वटा सवारी साधनलाई नियन्त्रणमा लिएर जरीवाना गराइएको छ । ऋषिङ गाउँपालिका, शुक्लागण्डकी नगरपालिका र व्यास नगरपालिकाका विभिन्न नदीमा अवैध रुपमा नदीजन्य पदार्थ उत्खनन् गर्दै गर्दा प्रहरीले एक एक्साभेटर र पाँच ट्याक्टरलाई नियन्त्रणमा लिएको हो ।
ऋषिङ गाउँपालिका अन्तर्गत रहेको मादी नदी बगरमा बिना अनुमति बाटो बनाइरहेको अवस्थामा बा २ ख ६२४३ नम्बरको एक्साभेटरलाई नियन्त्रणमा लिइएको छ । इलाका प्रहरी कार्यालय साराङघाटबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको एक्साभेटरलाई ऋषिङ गाउँपालिकाको कार्यालय बुझाइएकामा रु २२ हजार पाँच सय जरीवाना भएको छ ।
शुक्लागण्डकी नगरपालिका–९ सुरौदीखोला स्थितमा रहेको सुरौदीखोला नदी किनारबाट अबैध रुपमा गिट्टी बालुवा उत्खनन् गरी ओसारपसार गर्दै गरेको अवस्थामा ग १ त ३०७० र ग १ त ३४२१ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई शुक्लागण्डकी नगरपालिका बुझाइएकामा रु १२ हजारका दरले रु २४ हजार जरीवाना भएको प्रहरीले जनाएको छ ।
व्यास नगरपालिका–५ चिन्तुटारस्थित मादी नदी किनारबाट अवैध रुपमा ढुङ्गा ओसारपसार गरिरहेको अवस्थामा ग १ त २६३४, ग १ त ३४७२ नम्बर र ग १ त ५०६३ नम्बरको ट्याक्टरलाई नियन्त्रणमा लिइएको छ । ती सवारीलाई कारवाहीका लागि व्यास नगरपालिका बुझाइएकामा रु आठ हजारका दरले रु २४ हजार जरीवाना भएको छ ।