दमाैली : तनहुँको व्यास नगरपालिका–३ स्थित सेतीबुल्दी दोभान घाटमा शव जलाउँदा लाग्ने दाउराको मूल्य घटाइएको छ । दाउराको मूल्य महङ्गो भएको जनगुनासो आएपछि सेतीबुल्दी दोभान घाट दमौलीले दाउराको मूल्य घटाउने निर्णय गरेको हो ।
घाटका अध्यक्ष ओमबहादुर थापाको अध्यक्षतामा मङ्गलबार बसेको बैठकले दाउराको मूल्य प्रति केजी रु २८ बाट घटाएर रु २४ कायम गरिएको छ । समुदायको चौतर्फी आवाजलाई मध्यनजर गरी घाट समितिका पदाधिकारी र सरोकारवालाको बैठकले दाउराको मूल्यमा सम्झौता गरी घटाउने निर्णय गरिएको समितिका उपसचिव सुरेश वाग्लेले जानकारी दिनुभयो ।
बैठकले घाट समितिसँग आर्थिक अभावका कारण घाटमा ल्याउने वेवारिसे शवहरुको आर्थिक रकम प्राप्त नहुने गरेकाले झन् समस्या थपिएकाले आर्थिक सहयोगका लागि सरोकारवाला संस्थाहरुसँग अनुरोध गर्ने निर्णय भएको वाग्लेले बताउनुभयो । उहाँका अनुसार घाटमा मूल्यसूची सहितको सूचना बोर्ड राख्ने निर्णय समेत बैठकले गरेको छ ।