दमाैली : तनहुँको व्यास नगरपालिकाले कृषि विकास बैङ्कको पुरानो भवनमा सामूहिक आइसोलेशन बनाएको छ । घरमा बस्न नमिल्ने तथा विपन्न आर्थिक अवस्थाका सङ्क्रमितलाई राख्नका लागि नगरपालिकाले सामूहिक आइसोलेशन बनाएको हो ।
जिल्ला सङ्कट व्यवस्थापन समितिको सहमतिमा बिहीबारदेखि राख्ने गरी आइसोलेशन बनाइएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिनुभयो । उक्त आइसोलेशनमा ५० जान राख्ने मिल्ने गरी व्यवस्थापन गरिएको छ ।
उक्त आइसोलेशनमा प्रारम्भिक परीक्षण र अक्सिजन समेतको व्यवस्थापन गरिनेछ । जटिल बिरामीहरुलाई अस्पतालसम्म पु¥याउने कार्यका लागि निःशुल्क एम्बुलेन्सको समेत व्यवस्थापन भइसकेको न्यौपानेले बताउनुभयो । “सामान्य सङ्क्रमितलाई वडाका स्वास्थ्य फोकल व्यक्तिको निगरानीमा होम आइसोलेशनमा राख्छौ, घरमा बस्ने वातावरण नभएका र विपन्न वर्गका सङ्क्रमितलाई राख्न आइसोलेशनको व्यवस्थापन गरेका छौ,” न्यौपानेले भन्नुभयो ।
नगरपालिकामा हाल ८६ जना सक्रिय सङ्क्रमित छन् । पछिल्लो १५ दिनको अवधिमा २ सय ८२ जनाको पिसीआर गरिएकामा ४४ पुरुष र ४२ महिला सङ्क्रमित भएका छन् । नगरपालिकाले सोमबार र बिहीबार पिसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्दै आएको छ ।
नगरपालिकाले बुधबार मात्रै व्यास नगरपालिका–६ शिशाघाट, व्यास नगरपालिका–९ को गजौडे र व्यास नगरपालिका–१ करङकाठमा गरी ८५ जनाको स्वाब सङ्कलन गरेको छ ।