दमाैली : तनहुँ उद्योग वाणिज्य सङ्घले कोभिड–१९ को न्यूनीकरण र व्यवस्थापनका लागि रु तीन लाख पाँच हजारको कोष स्थापना गरेको छ । बुधबार सम्पन्न सङ्घको पदाधिकारी बैठकले विभिन्न बजार इकाई समिति, महिला उद्यमी विकास समितिको संयुक्त प्रयासमा उक्त कोष स्थापना गरेको हो ।
महाविपत्तिको घडीमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, निजामति कर्मचारी, स्वयंसेवीहरु लगायत सबैको उत्साह, आत्मबल र सेवाको भावना अभिवृद्धि गर्न, सामूहिक आइसोलेशन कक्ष निर्माण तथा स्वास्थय सामग्री व्यवस्थापनका लागि उक्त कोष स्थापना गरिएको सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
कोषमा सहयोग गरिदिन सङ्घले उद्योगी व्यवसायी, देश तथा विदेशमा रहेका शुभचिन्तक, विभिन्न सङ्घसंस्थालाई आग्रह गरेको छ ।
यसैबीच सङ्घले सङ्कटको घडीमा अत्यावश्यक सामग्रीहरुको सहज तथा सुलभ विक्री वितरण र बजार व्यवस्थापनप्रति प्रतिबद्ध रहेको जनाएको छ । सम्पूर्ण उद्योगी व्यवसायीहरुबाट अत्यावश्यक वस्तुको ढुवानी तथा विक्री वितरणमा सकारात्मक भूमिका निर्वाह भएको अवस्थामा सम्पूर्ण व्यवसायी महामारी निराकरणका लागि सहयोग गर्न तत्पर रहेको जनाएको छ ।