दमाैली : कोभिड–१९ न्यूनीकरण, व्यवस्थापन र स्वास्थ्य सामग्री व्यवस्थापनका लागि तनहुँ उद्योग वाणिज्य सङ्घले खडा गरेको कोषमा सहयोग रकम जुट्न थालेको छ । सङ्घले बुधबार स्थापना गरेको कोषमा जिल्लाका व्यवसायीहरुले सहयोग थालेका हुन् ।
सङ्घले सामूहिक आइसोलेशन कक्ष निर्माण तथा स्वास्थ्य सामग्री व्यवस्थापनका लागि रु तीन लाख पाँच हजारको कोष स्थापना गरेको थियो । सङ्घका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठले कोभिड व्यवस्थापन महाअभियानका लागि व्यास–३ निवासी व्यवसायी बानेश्वर मल्लबाट रु १० हजार एक सय, व्यास–३ निवासी पुस्तक व्यवसायी सुमन भट्टराईले रु १० हजार पाँच सय र व्यास–२ निवासी वीर बस्यालबाट रु पाँच हजार पाँच सय ५५ प्राप्त भएको जानकारी दिनुभयो । श्रेष्ठले यो अभियानमा सहयोग गर्न सम्पूर्णलाई आग्रह समेत गर्नुभएको छ ।