व्यासले कोभिड विरुद्ध सञ्चालन गरेको प्रभावकारिताको समिक्षा
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • व्यास

    व्यासले कोभिड विरुद्ध सञ्चालन गरेको प्रभावकारिताको समिक्षा

    खबरपुञ्ज संवाददाता

    २९ बैशाख २०७८, बिहीबार

    तनहुँ : व्यास नगरपालिकाले कोभिड–१९ को विरुद्ध नगर क्षेत्रमा सञ्चालन गरेको अभियानको प्रभावकारिता सम्बन्धमा समिक्षा गर्ने क्रम शुरु गरेको छ । नगरपालिकाले हरेक दिन बिहान ८ः३० बजे अभियानको समिक्षा गर्न शुरु गरेको हो ।

    नगर प्रमुख वैकुण्ठ न्यौपानेको संयोजकत्वमा, उप–प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, सम्बन्धित वडाका वडाध्यक्ष र स्वास्थ्य प्रमुखको उपस्थितिमा समिक्षा गर्न शुरु गरेको नगरपालिकाले जनाएको छ ।

    सोही बमोजिम बिहीबार बसेको समिक्षा बैठकले कोभिड–१९ का लागि आवश्यक औषधिजन्य एवं अन्य स्वास्थ्य उपकरणहरु उपलब्ध गराइदिन एसओएस बालग्राम र गोरखा वेलफेयर ट्रष्टमा सहयोगका लागि अनुरोध गरेको छ । यस्तै नगरपालिकाको व्यास–२ स्थित कृषि विकास बैङ्कको भवनमा कोभिड–१९ बिरामीहरुको उपचारका लागि स्थापना गरिएको आईसोलेसन केन्द्रका लागि आवश्यक एक जना एमविविएस चिकित्सक नियुक्त गरेको छ ।

    हरेक दिन हुने समिक्षाका क्रममा वडा एवं नगर स्तरमा कोभिड–१९ का विरुद्ध सञ्चालन गरिएका कार्यक्रमहरु, त्यसको प्रभावकारिता, नगरवासीहरुबाट आएको गुनासोलाई कार्यान्वयन गर्न चाल्नुपर्ने कदम लगाएतका विषयमा छलफल गर्ने गरिएको नगर प्रमुख न्यौपानेले जानकारी दिनुभयो ।

    यसैबीच आईसोलेसनका लागि नयाँ नियुक्त गरिएका डाक्टर र व्यास नगरपालिका अन्तरगतका १४ वटै वडाका कोभिड–१९ का सम्पर्क व्यक्तिहरुसँग नगरपालिकाले अन्तरक्रिया गरेको छ । त्यसक्रममा नगर प्रमुख न्यौपानेले चिकित्सक एवं फोकल पर्सनहरुलाई निर्धक्क भएर कोभिड–१९ का सङ्क्रमितहरुको सेवामा आत्मबलका साथ जुट्दै आ–आफ्नो कार्य क्षेत्रमा भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।