दमाैली : स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्दै दमौलीस्थित नुरी हनफी जामे मस्जिदमा नमाज पढेर इद उल फित्र मनाइएको छ । मुस्लिम धर्मावलम्बीको महान् पर्वको अवसरमा व्यास नगरपालिका–४ स्थित मस्जिदमा सरकारले तोकेको मापदण्ड पालना गर्दै नमाज पढेर पर्व मनाइएको हो ।
कोभिड जोखिमका कारण विगत वर्षमा जस्तो उल्लासमय वातावरणमा पर्व मनाउने वातावरण नरहेकाले केही सीमित व्यक्तिको उपस्थितिमा मात्रै नमाज पढिएको दमौली मुस्लिम अन्जुमन कमिटीका सचिव मन्सुर अहमदले जानकारी दिनुभयो । “कोरोना कहर नभएको बेला आजको दिनमा मस्जिदमा निकै उल्लासमय वातावरणमा पर्व मनाउने गरिन्थ्यो,” उहाँले भन्नुभयो, “तर अहिले कोरोना जोखिमका कारण दूरी कायम गर्दै सबै मापदण्ड पालना गरेर नमाज पढ्यौ ।” अन्य सबैलाई घर–घरमै पर्व मनाउन आग्रह गरिएको उहाँले जानकारी दिनुभयो ।
तनहुँको व्यास नगरपालिकाको दमौली, श्याम्घा, भानु नगरपालिकाको सतिस्वाँरा, शुक्लागण्डकी नगरपालिकाको बेलचौतारा लगायतका ठाउँमा मुस्लिम समुदायको बसोबास छ ।
रमदान महिना सकिएको खुशीयालीमा मुस्लिम समुदायले एकअर्कामा शुभकामना साटासाट गरी आज पर्व मनाउँदैछन् । रमदान महिनाभर (व्रत) बसेका इस्लाम धर्मावलम्बी सौव्वाल महिनाको पहिलो तारिखमा ईद मनाउँछन् । चन्द्रमाको गतिका आधारमा तय गरिने इद पर्व रमदान सकिएपछि सुरु हुने शुक्लपक्षमा पहिलोपटक चन्द्रमा देखिएपछि त्यसको भोलिपल्ट मनाउने परम्परा छ ।