जिल्लामा खड्कियो शववाहन
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    जिल्लामा खड्कियो शववाहन

    खबरपुञ्ज संवाददाता

    ३० बैशाख २०७८, शुक्रबार

    तनहुँ : तनहुँ जिल्लामा एउटा पनि शववाहन नभएपछि त्यसको अभाव खड्किएको छ । कोभिड–१९ को सङ्क्रमण बढ्दै गएपछि सङ्क्रमितको मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहनको अभाव खड्किएको हो ।

    जिल्ला सङ्कट व्यवस्थापन केन्द्रले शववाहनको खोजी शुरु गरेको छ । व्यावसायिक क्षेत्रबाट हुन सक्ने सामाजिक उत्तरदायित्वलाई विचार गर्दै शुक्लागण्डकी नगरपालिकास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रमा रही सञ्चालन हुने गरी दमौली अस्पताललाई एक थान शववाहन उपलब्ध गराइदिन केन्द्रले सूर्य नेपाल लिमिटेडलाई अनुरोध गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिनुभयो ।

    स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले शववाहन नहुँदा मृत्यु हुने सङ्क्रमितको शव व्यवस्थापनका लागि समस्या हुने बताउनुभयो । “वैशाख २६ गते भानुका एक वृद्धको एम्बुलेन्समै मृत्यु भएकाले उनको शवलाई एम्बुलेन्समा राखेर लगियो,” उहाँले भन्नुभयो, “अहिलेको परिस्थितिमा शववाहनको खाँचो खड्किएको छ ।”

    व्यास नगरपालिकाले भने एउटा शववाहन भाडामा लिएको छ । नगरक्षेत्रभित्रका वासिन्दाको कोरोना सङ्क्रमणबाट मृत्यु भएमा शव व्यवस्थापनका लागि शववाहन भाडामा सञ्चालन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिनुभयो । “नगरपालिकामा एउटा शववाहन छ तर त्यो पुरानो भएकाले जुनसुकै बेला धोका हुन सक्छ, त्यही भएर एउटा शववाहन भाडामा लिएका छौ,” उहाँले भन्नुभयो, “सङ्क्रमितलाई स्वास्थ्य संस्थासम्म पु¥याउन एम्बुलेन्स पनि तयारी अवस्थामा छ ।”