तनहुँ : तनहुँको म्याग्दे गाउँपालिका–२ का युवा व्यवसायी रमेश अधिकारीले विपद्मा परेकाहरुलाई निःशुल्क सवारी उपलब्ध गराउने घोषणा गर्नुभएको छ । गाउँपालिकाभित्रका वासिन्दा बिरामी परेको खण्डमा आफूले निःशुल्क सवारी उपलब्ध गराउने अधिकारीले घोषणा गर्नुभएको हो ।
निषेधाज्ञाको समयमा सवारी साधन सञ्चालन नभएर अस्पतालसम्म जान नसक्ने व्यक्तिलाई सेवा दिने अधिकारीले बताउनुभयो । उहाँका अनुसार सुत्केरी हुन लागेका, पेटका लगायतका बिरामीलाई सवारी उपलब्ध गराइनेछ ।
म्याग्दे गाउँपालिकाभित्र कोभिड सङ्क्रमितका लागि गाउँपालिकाले दुई वटा एम्बुलेन्स तयारी अवस्थामा राखेको छ । गाउँपालिकाले व्यवस्थापन गरेको एम्बुलेन्स नभएको समयमा ७ वटै वडाका कोभिड बाहेकका विरामीलाई सहयोग गर्ने अधिकारीले बताउनुभयो । उहाँलाई आवश्यक पर्नेले ९८४६०११२११ मा सम्पर्क गर्न सक्नुहुनेछ ।
त्यस्तै ट्रेड युनियन काङ्ग्रेस म्याग्देले दैनिक गुजारा टार्न मुस्किल भएका अति विपन्न परिवार, मजदुर तथा श्रमिकहरुका लागि गाउँपालिकासँग समन्वय गरि राहत वितरण गर्ने भएको छ । दैनिक काम गरेर गुजरा चलाउनेका लागि लामो समयसम्म काम नपाउँदा समस्या भएपछि राहत वितरण गर्ने तयारी गरिएको सचिव महेश भट्टराईले बताउनुभयो ।