ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    तनहुँ : तनहुँको भानु नगरपालिकाका ज्येष्ठ नागरिक सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित भएका छन् । भानु नगरपालिका–३, ७ र १० का लाभग्राहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता हालसम्म पाउन नसकेका हुन् । अन्तिम चैमासिकको पनि तेस्रो महिना लागिसक्दा समेत लाभग्राहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन नसकेका हुन् ।

    ज्येष्ठ नागरिक भने हालसम्म पनि सामाजिक सुरक्षा भत्ता नपाउँदा दुःखी छन् । सामाजिक सुरक्षा भत्ताकै सहारामा जेनतेन गुजारा चलेपनि लामो समयसम्म भत्ता नपाउँदा समस्या भएको एक ज्येष्ठ नागरिकले गुनासो गर्नुभयो । “त्यहि भत्ताको आश थियो त्यसैले जेनतेन जीवन गुजारा गरेका थियौं, त्यो पनि बन्द भयो । कसरी चुलो बाल्ने खै ?” उहाँले दुखेसो पोख्नुभयो ।

    भानु नगरपालिका–३ का वडाध्यक्ष दलनारायण श्रेष्ठले बैङ्कको कारणले लाभग्राहीले अहिलेसम्म दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताउनुभयो । “ढिला होला भनेर हामीले बेलैमा विवरण बुझाएका थियौं, दुई÷चार जनाको विवरण गल्ती भयो भनेर कसैको पनि रकम दाखिला गर्न नमानेपछि वैशाख ३÷४ गते विवरण सच्याएर पठायौं तर बैङ्कले ढिला गरिदियो,” उहाँले भन्नुभयो ।

    भानु नगरपालिका–७ का वडाध्यक्ष रामकृष्ण देवकोटाले पनि बैङ्ककै कारण लाभग्राहीले दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता पाउन नसकेको बताउनुभयो । बैङ्कले सम्झौता गर्दा समयमै र वडास्तरमै पुगेर सामाजिक सुरक्षा वितरण गर्ने भनिएता पनि अहिले आएर बैङ्कले अटेरी गरेको उहाँको भनाई छ ।

    भानु–३, ७ र १० का लाभग्राहीलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको एनएमबी बैङ्क तुरतुरे शाखाका प्रबन्धक प्रविणकुमार श्रेष्ठले वडा कार्यालयले ढिला गरी विवरण ल्याउने र विवरणमा त्रुटि रहेकाले समयमै वितरण गर्न नसकिएको जानकारी दिनुभयो । अहिले निषेधाज्ञाका कारण बैङ्किङ कारोबार बन्द रहेकाले ढिला हुन पुगेको भन्दै विवरण मिलेका लाभग्राहीहरुको खातामा रकम दाखिला भइसकेको उहाँले बताउनुभयो ।

    अवस्था सहज भएपछि दैनिक १५÷१५ जनाका दरले भत्ता वितरण गरिने जानकारी दिँदै कोरोना जोखिमका कारण वडास्तरमै गएर सामाजिक सुरक्षा भत्ता वितरण गर्न भने नसकिने उहाँले जानकारी दिनुभयो ।

    भानु–३ मा तीन सय ६२, भानु–७ मा पाँच सय ४७ र भानु–१० मा ६ सय १० लाभग्राही रहेको नगरपालिकाले जनाएको छ ।