पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी
× गृहपृष्ठ तनहुँ विशेष गण्डकी प्रदेश प्रदेश देश राजनीति आर्थिक स्वास्थ्य विचार सुचना प्रविधि मनोरञ्जन खेलकुद सम्पादकीय फोटो पुञ्ज युनिकोड
  • तनहुँ विशेष

    पिसिआर परीक्षणका लागि प्रयोगशाला स्थापना गर्ने तयारी

    खबरपुञ्ज संवाददाता

    ४ जेष्ठ २०७८, बुधबार

    तनहुँ : कोरोना सङ्क्रमणको जोखिम बढ्दै गएको र पिसिआर परीक्षणको रिपोर्ट आउन ढिलाई भएपछि तनहुँका सबै पालिकाको सहभागितामा प्रयोगशाला स्थापनाको तयारी थालिएको छ । स्वाब सङ्कलन गरी परीक्षणका लागि पोखरा पठाउने गरिएकामा रिपोर्ट आउनै ढिलाई हुन थालेपछि जिल्लाका दशवटै पालिकाले जिल्लामै प्रयोगशाला स्थापना गर्ने निर्णय गरेका हुन् ।

    व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेको अध्यक्षतामा बुधबार बसेको अन्तरपालिका समन्वय बैठकले व्यास–१० दुम्सीबजारस्थित आधारभूत स्वास्थ्य कार्यालयको भवनमा प्रयोगशाला स्थापना गर्ने निर्णय गरेको हो । त्यसका लागि सम्बन्धित निकायमा अनुमति माग गर्ने र आवश्यक व्यवस्थापनको नेतृत्व व्यास नगरपालिकाले लिने निर्णय भएको नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

    उक्त प्रयोगशालामा रोटरी क्लव अन्तर्राष्ट्रिय डिष्ट्रिक ३२९२ बाट प्राप्त मेसिनको समेत प्रयोग गरिने भएको छ । गत वर्ष असोजमा क्लवले नगरपालिकालाई एक थान पोर्टेवल मेसिन हस्तान्तरण गरेको थियो । तर कोरोनाको जोखिम कम हुँदै गएको र पोखराबाट रिपोर्ट तत्कालै आउन थालेपछि उक्त मेसिन प्रयोग गरिएको थिएन । तनहुँका दशवटै पालिकाहरुको सहभागितामा गत वर्ष जिपी कोइराला श्वासप्रश्वास उपचार केन्दमा आइसोलेशन भवन निर्माण सम्पन्न भएको थियो ।

    पिसिआर परीक्षण प्रयोगशालाका लागि सहयोग गर्न इच्छुक निजी क्षेत्र, वैदेशिक रोजगारमा रहनुभएका दाजुभाई दिदीवहिनी, राष्ट्रिय तथा अन्तराष्ट्रिय सङ्घसंस्थालाई आग्रह गरिएको छ ।

    “कोभिडसँग लक्षण मिल्दाजुल्दा बिरामी पिसिआर परीक्षणको दायरामा नआउने, आउँदा ढिलो आउने गरेको अवस्था छ,” प्रवक्ता श्रेष्ठले भन्नुभयो, “त्यसपछि स्वाब सङ्कलन गरेर पठाउँदा कम्तिमा रिपोर्ट आउन एक हप्ता लागेको स्थिति छ । यसले गर्दा सङ्क्रमितको पहिचान र उपचार प्रकृयामा कठिन भयो ।”

    बैठकले अक्सिजनको अभाव महशुस भएको अवस्थामा नेपाल सरकार र गण्डकी प्रदेश सरकारलाई दमौली अस्पताल र जिपी कोइराला श्वासप्रश्वास अस्पतालमा अक्सिजन प्लाण्ट स्थापना गर्ने प्रकृया अघि बढाएकामा धन्यवाद दिएको छ । साथै यस प्रकृयामा स्थानीय पालिकाहरुले समेत सहयोग प्रदान गर्ने भएको छ । हरेक पालिकाले आ–आफ्नो क्षमता, सामाजिक सङ्घ संस्था, निजी क्षेत्र समेतको सहभागितामा स्वास्थ्य संस्थाहरुमा अक्सिजन प्लान्ट राख्न पहल गर्ने निर्णय बैठकले गरेको छ ।

    बैठकमा भानु नगरपालिकाका प्रमुख उदयराज गाैली, शुक्लागण्डकीका प्रमुख किसान गुरुङ, ऋषिङका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ, आँबुखैरेनीका श्री गिर बहादुर थापा, व्यास नगर उपप्रमुख मीरा जोशी, म्याग्देका उपाध्यक्ष बालकृष्ण घिमिरे, भिमादका प्रतिनिधि ऋषिभक्त वाग्ले, जिपि स्वासप्रश्वास अस्पतालका निर्देशक डा. राम कुमार श्रेष्ठ, व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देल, व्यास नपा वडा नं १,२,३,४,५,१३ का वडा अध्यक्ष, उद्योग वाणिज्य संघ तनहुँका अध्यक्ष पविन्द्र कुमार श्रेष्ठ, दमौली बजार इकाईका सभापति भूपाल आले लगायतकाे उपस्थिति थियाे ।