काठमाडौं : तल्लो जात भनेर कोठा भाडा नदिएको आरोप लागेका घरबेटीविरुद्ध महानगरीय प्रहरी वृत्त सिंहदरबारमा जाहेरी दर्ता भएको छ । बिहीबार केही पत्रकारसहित पुगेकी पीडित रुपा सुनारले जाहेरी दर्ता गर्नुभएको हो ।
काठमाडौं महानगरपालिका-११ बबरमहलका ५८ वर्षिया सरस्वती प्रधानविरुद्ध जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिइएको हो ।
रुपाका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोध्नुभएको थियो । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गर्नुभएको छ ।
रुपाका अनुसार महानगरीय प्रहरी वृत्त सिंहदरबारमा १२ बजे नै जाहेरी दर्ता गर्न गए पनि प्रहरीले प्रमाण नपुगेको भन्दै दर्ता गर्न मानेको थिएन । करिब ५ घण्टासम्मको दबाबपछि प्रहरीमा जाहेरी दर्ता गरेको रुपाले फेसबुकमार्फत जानकारी दिनुभयो।
‘१२ बजेदेखिको निरन्तर दवावले ४ बजेर ५० मिनेटमा बल्ल प्रहरीमा जाहेरी दर्ता गर्न सफल भइयो । साथ दिनु हुने सम्पूर्णमा हार्दिक धन्यवाद । लडाइँ अझै बाँकी छ,’ उहॉले लेख्नुभएको छ ।